दुई महीनामा २ खर्ब ३८ अर्ब तरलता प्रवाह
काठमाडौं, २ कात्तिक । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपाल राष्ट्र बैंकले २ खर्ब ३८ अर्बभन्दा बढीको तरलता प्रवाह गरेको छ । गत साउन र भदौमा बैंक तथा वित्तीय संस्थाले यस बैंकबाट स्थायी तरलता सुविधामार्फत रु. १ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत रु.२ खर्ब ३७ अर्ब १९ करोड गरी कुल रु. २ खर्ब ३८ अर्ब ३९ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणहरुमार्फत खुद रु. १७ खर्ब ८० अर्ब २ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ७७ करोड ७८ लाख खुद खरिद गरी रु.१ खर्ब २ अर्ब ८७ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ७८ करोड ९४ लाख खुद खरिद गरी रु. १ खर्ब ४६ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ४४ करोड बिक्री गरी रु. ५८ अर्ब २६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ९२ करोड बिक्री गरी रु. १ खर्ब १७ अर्ब २३ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।