‘दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानी साझेदारी आवश्यक’
काठमाडौं, २२ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानी साझेदारीका लागि आग्रह गरेका छन् ।
काठमाडौंमा बुधबार आयोजित नेपाल-कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरियाबाट हुने आयातको तुलनामा नेपालबाट हुने निर्यात नगन्य रहेकाले व्यापार सन्तुलन मिलाउन जरुरी भइसकेको बताए ।
ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी मुख्य चार क्षेत्रहरूमा लगानी साझेदारी बढाउन सकिने अध्यक्ष ढकालकाे भनाइ छ । यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको र यही क्षेत्रमै कोरियाली विशेषज्ञता र लगानी विस्तार भइरहेकोले दुवै देशलाई ‘वीनवीन’को अवस्था सृजना हुने उनले बताए ।
यस्तै उनले नेपालमा ठूलो लगानीका ३५० भन्दा बढी कोरियाली उद्यमहरू भएकाले पनि नेपाल कोरियाका लागि आकर्षक लगानी गन्तव्य बताए । यसरी बढ्दो साझेदारीलाई थप विस्तार गरी अत्याधुनिक कोरियाली प्रविधि र नेपालको प्राकृतिक स्रोत तथा जनशक्तिको मेल गराउने समय आएको उनाइ छ ।