आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौं, ४ मङ्सिर । आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् ।
बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चिताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो ।
नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन् ।
यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्यायलगायतका व्यवस्था छन् ।
नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ अनुमोदन गरेको ३३ वर्ष पूरा भएको छ । नेपालले २०४७ भदौ २९ गते उक्त महासन्धिलाई बिनाशर्त अनुमोदन गरी यसको सिद्धान्तअनुसार प्रतिबद्धता जनाएको थियो ।
नेपालले उक्त महासन्धि कार्यान्वयन स्थितिको प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा पेश गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको बाल अधिकार समितिले नेपालको विगतका प्रतिवेदनमा दिएका समापन टिप्पणी तथा सुझावलाई नेपालले कार्यान्वयन समेत गर्दै आएको छ ।
बालबालिकाको अधिकार तथा हक, हितको संरक्षण र सम्बद्र्धनका लागि विशिष्टिकृत निकायको रुपमा राष्ट्रिय बाल अधिकार परिषद् क्रियाशील रहेको छ ।
परिषद्ले आफूलाई प्राप्त कार्यदेशबमोजिम बालबालिकासम्बन्धी कानुन, नीति र योजना निर्माणमा सहयोग तथा सहजीकरण एवं बाल अधिकार संरक्षण र प्रवद्र्धनको सिलसिलामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धिलाई अनुमोदन गरेपछि नेपालले बालबालिकाको हक, हित र अधिकारको विषयलाई संविधान, कानुन, नीति, आवधिक योजना, संस्थागत संरचना, वार्षिक नीति तथा कार्यक्रममा क्रमशः सुधार गर्दैआएको छ ।
नेपालले उक्त महासन्धिलाई सन् १९९० को सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन घोषणा गरेको थियो ।
सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस भने भदौ २९ गते मुलुकभर मनाउँदै आइरहेको छ । यस वर्ष ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको थियो भने ‘प्रत्येक बालबालिकाको लागि प्रत्येक अधिकार’ नारासहित अन्तर्राष्ट्रिय बाल अधिकार दिवस आज मनाइँदै छ ।