बैंकले धेरै व्याज लिएकाे भए उजुरी गर्नुस् : गभर्नर

काठमाडाैं,१५ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरेका छन् ।
शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले उद्योगी व्यवसायीहरुले बैंकहरुले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताए ।
उनले राष्ट्र बैंकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरुलाई फिर्ता गराएको उल्लेख गरे ।
उनले बैंकले बढी ब्याज लिए भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्न व्यवसायीहरुलाई आग्रह गरे । उनले व्यवसायीले बैंकले १६-१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न आग्रह गरे ।
गभर्नर अधिकारीले व्यवसायीहरुले बैंकहरुले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउनेहरुका लागि प्रोत्साहन मिल्ने बताए ।
उनले ठूला व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशत भन्दा बढी ब्याज नतिरेको उल्लेख गरे । उनले बैंकहरुको ब्याजदर १० प्रतिशत हुँदा पनि व्यवसायीहरुले ८ प्रतिशत ब्याजमा ऋण लिइरहेको स्पष्ट पारे ।
उनले उद्योगी व्यवसायीहरुले ऋण लिनुभन्दा पहिला आफ्नो व्यवसाय योजना बनाउने नगरेको बताए ।
उनले आफ्नो व्यवसाय नहेरी कर्जा लिँदा व्यवसायीहरुलाई व्यक्तिगत रुपमा समस्या परेको भन्दै उक्त समस्या राज्य र राष्ट्र बैंकमाथि थुपार्नु गलत भएको बताए ।
गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र संरचनागत हिसावले समस्यामा रहेको बताए ।
उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै रेमिट्यान्सको निर्भरताका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताए ।
उनले सरकार र राष्ट्र बैंकका हेरक नीतिहरु आन्तरिक उत्पादनलाई बनाउने विषयमा केन्द्रित रहेको बताए । उनले नीति तथा कार्यक्रम बजेट र मौद्रिक नीतिमा आन्तरिक उत्पादनलाई बढाउने स्पष्ट नीतिहरु उल्लेख गरे ।
उनले राष्ट्र बैंकले बजेटलाई असहयोग गरेको भनेर लाग्ने गरेको आरोपमा गभर्नरले असन्तुष्टि व्यक्त गरे ।
उनले बजेटमा भएको कुन विषयमा राष्ट्र बैकले सहयोग गरेको छैन ? भन्दै प्रश्न गरे । उनले अर्थमन्त्रीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै रमाइलोका लागि गभर्नर र मन्त्रीको सम्बन्ध बिग्रेको भन्नु गलत भएको उल्लेख गरे ।
गभर्नर अधिकारीले आर्थिक शिथिलताका कारण बैंकहरुको खराब कर्जामा समस्या आएको बताए । उनले राष्ट्र बैंकले बैंकहरुको खराब कर्जा थप नबढोस् भनेर नै नीतिगत रुपमा कडाइ गरेको बताए ।
गभर्नर अधिकारीले खराब कर्जाको असरले कर्जाको गुणस्तर समेत कमजोर बनाइरहेको बताए । उनले व्यवसायीहरुले ऋण लिँदा आफ्नो क्षमता नहेरेकाले अहिले तिर्नुपर्दा केही समस्या परेको उल्लेख गरे ।
उनले दक्षिण एशियामा अन्य देशको हेरेर नेपालका बैंकहरुको खराब कर्जा कम रहेको बताए ।
गभर्नर अधिकारीले बैंकको नेट एनपीए १.५ प्रतिशत भन्दा माथि नगएको बताए । उनले नेपालको बैंकिङ क्षेत्रमा समस्या नभएको बताए ।
उनले राष्ट्र बैंकको नीतिको कारण बैंकहरुमा तत्काल समस्या आउने अवस्था नभएको बताए । उनले वाह्य क्षेत्र इतिहासकै धेरै बलियो अवस्थामा रहेको भन्दै १०.३ महिनाको वस्तु र सेवा आयात गर्नसक्ने क्षमता रहेको बताए ।( नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औँ वार्षिकोत्सव समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिनुभएकाे वक्तव्य )