सामाजिक सुरक्षा कोषमा करिब १० लाख श्रमिक सूचीकृत, ४६ अर्ब योगदान रकम जम्मा
काठमाडौं, ७ पुस ।सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या ९ लाख ९९ हजार ८०६ पुगेको छ । कोषले दिने सेवा सुविधाका कारण श्रमिकहरू सूचीकरण हुने क्रम बढ्दै गएको हो ।
सामाजिक सुरक्षा कोषका अनुसार पुस ५ गतेसम्म १८ हजार ५१९ निजी कम्पनी सूचीकृत भएका छन् । सूचीकृत हुने श्रमिकको संख्या बढ्दै गएपछि योगदान रकम पनि बढ्दै गएको छ । कोषका अनुसार पुस ५ गतेसम्म ४६ अर्ब ४४ करोड ८७ लाख रुपैयाँ रकम जम्म भएको छ ।
कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, पेन्सन जस्ता सुुविधा दिँदै आएको छ । हालसम्म कोषले ६ अर्ब ७७ करोड ५६ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम अन्तर्गत ८० करोड ६९ लाख रुपैयाँ भुक्तानी दिएको छ ।
निजी कम्पनीमा काम गर्ने श्रमिक, वैदेशिक रोजगारमा गएका र व्यक्तिगत रुपमा पनि कोषमा आवद्ध हुन सकिक्ने छन् ।
कोषमा आवद्ध भएका परिवारले पनि कोषबाट दिने सेवा प्राप्त गर्न सक्नेछन् । कोषमा आवद्ध भएका श्रमिकको अकस्मात मृत्यु भयो भने कोषले पेन्सनको व्यवस्था पनि गरेको छ । हालसम्म आश्रित परिवार सुरक्षा दावी अन्तर्गत ११ करोड १६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
त्यस्तै अवकाश दावी अन्तर्गत पाँच अर्ब ७६ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
कोषमा सूचीकृत भएका श्रमिकका लागि नियमित स्वास्थ्य उपचारका लागि ७१ वटा हस्पिटल तोकेको छ । ती हस्पिटलमा सामाजिक सुरक्षा कोषमा आवद्ध भएको नम्बर देखाए ८० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
सूचीकृत श्रमिकले एक वर्षभित्र एक लाखसम्मको औषधि उपचार प्राप्त गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।