मुक्तिनाथ विकास बैंकको शाखा माछापोखरीमा
काठमाडौं, ११ असार । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौ महानगरपालिका वडा नं.१६, माछापोखरीमा पनि शाखा कार्यालय विस्तार गरेको छ। उक्त शाखाको ओशो तपोवनका संंयोजक तथा संस्थापक स्वामी आनन्द अरुण र बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) ले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने उनले बताए ।
मुक्तिनाथ विकास बैंकको हाल सम्म कुल ७८ वटा शाखाहरु औपचारिक रुपमा संचालनमा छन् । काठमाण्डौ उपत्यका भित्र महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँ बानेश्वर, चावहील र भक्तपुरको कमलविनायकमा शाखाहरु संचालनमा आई सकेका छन् । साथै जोरपाटी, ठमेल, कोटेश्वर, कुपण्डोल, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको जानकारी दिइएको छ ।