सोमबार पनि बढ्यो नेप्से परिसूचक, ४ अर्बको कारोबार

काठमाडौं, १५ माघ । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक र कारोबार दुबै बढेको छ । आइतबार १० दशमलव ३७ अंकले बढेको बजार सोमबार पनि १० दशमलव २६ अंकले बढेर २ हजार १०४ बिन्दूमा बन्द भएको हो ।
सोमबार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि आएको छ । सोमबार १ करोड २३ लाख २२ हजार कित्ता शेयर ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।
कारोबारमा आएका कम्पनीहरुमध्ये १५० कम्पनीको शेयर बढेको छ भने ८६ कम्पनीको घटेको छ । बाँकी रहेका ११ कम्पनीको शेयर भने स्थिर छ ।
सोमबार युनियन हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कारोबार रकमको आधारमा सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको ६० करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको हो ।