४७ दशमलव ९० प्रतिशतले बढ्यो अप्पर सोलु हाइड्रोको नाफा
काठमाडौं, १६ माघ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बढेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ८ करोड ३९ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७ दशमलव ९० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ६७ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
६ महिनाको अवधिसम्ममा कम्पनीले विद्युत बिक्री गरेर ४२ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले विद्युत बिक्री मार्फत ४० करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । कम्पनीको अन्य इक्विटी भने १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २२ पैसा र प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ८६ पैसा छ ।