रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि सरकार, परिसंघ र उद्योगबीच त्रिपक्षीय सम्झौता
काठमाडौं, १७ माघ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएकाे छ ।
कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससिप) सञ्चालनका लागि उक्त सम्झाैता गरीएकाे हाे । केन्द्रका कार्यकारी अधिकृत दीपक घिमिरे, परिसंघका महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार कुल १६६५ जना प्रशिक्षार्थी कामदार छनोट गरी उनीहरूलाई प्रशिक्षण दिएपछि कम्तीमा १८ महिनाको रोजगारी प्रदान गरिनेछ । प्रशिक्षार्थी कामदारहरूको अधिकतम तीन महिनाको पारिश्रमिक भने सरकारका तर्फबाट केन्द्रले बेहोर्नेछ ।
कार्यक्रममा सम्झौता गर्ने ६ उद्योगमा लिटमस इन्डस्ट्रिज, अरिहन्त मल्टिफाइबर्स, किरण सुज म्यानुफ्याक्चर्स, बाबा जुट मिल, मोडर्न स्लिपर इन्डस्ट्रिज र रन सुज इन्डस्ट्रिज छन् ।