Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाली रुपैँया इतिहासकै कमजोर, राष्ट्र बैंकले तोक्यो प्रतिडलर सटहीदर ११०.३७ रुपैँया

नेपाली रुपैँया इतिहासकै कमजोर, राष्ट्र बैंकले तोक्यो प्रतिडलर सटहीदर ११०.३७ रुपैँया

काठमाडौं, १५ असार । नेपाली रुपैँया अहिलेसम्मकै कमजोर बनेको छ । गत वैशाखदेपख डलरसँग निरन्तर अवमूल्यन भैरहेको नेपाली रुपैँया डलरको तुलनामा थप कमजोर भई शुक्रबारका लागि विनिमयदर प्रतिडलर ११० रुपैँया ३७ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरको आसपासमा रहेर बैंकहरुले कारोबार गर्नेगर्छन् ।
भारतीय रुपैँयासँग निश्चित विनिमय दर तोकिएको नेपाली मुद्राको भारतीय रुपैँया अनुसार नै अन्तर्राष्ट्रिय मुद्राहरुसँग विनिमय दर निर्धारण हुनेगर्छ ।

यसअघि २०७३ मंसीर १० मा प्रतिडलर विनिमय दर ११० रुपैँया २८ पैसा निर्धारण भएको थियो । खासगरी कच्चा तेलको मूल्यमा वृद्धि तथा उच्च आयातका कारण भारतमा चालु खाता घाटामा गएपछि भारतीय रुपैँया डलरको तुलनमा तीव्र अवमूल्यन भएको हो । भारतीय रुपैँयाको अवमूल्यनसँगै यसको असर नेपाली मुद्रामा पनि देखिएको छ । भारतमा विदेशी लगानीकर्ताहरुले लगानी फिर्ता लैजाने क्रम बढेपछि डलरको माग थप बढेको छ । यद्यपि रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ)ले विदेशी लगानीकर्ताका लागि ५० करोड डलर बराबरको हेजिङ सुविधा दिएको छ । जसका कारण भारतीय रुपैँयाको अवमूल्यन नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

आयातमा आधारित नेपाली अर्थतन्त्रका लागि डलर मजबुत हुँदा आयात महँगो हुन्छ भने मुद्रास्फिति (मूल्यवृद्धि)को चाप पर्न जान्छ । पहिले नै उच्च चालु खाता घाटा र शोधनान्तर स्थिति पनि कमजोर रहेको स्थितिमा डलर मजबुत हुनु नेपाली अर्थतन्त्रका लागि पक्कै पनि सुखद होइन । विदेशी ऋणको साँवा ब्याज भुक्तानीमा बढी खर्च गर्नुपर्ने हुन्छ । त्यस्तै, नेपाल विद्युत प्राधिकरणको डलरमा आधारित विद्युत् खरिद सम्झौताका केही आयोजनाहरुमा बढी खर्च गर्नुपर्ने हुन्छ । हवाई टिकटहरु महँगो हुने तथा विदेशमा अध्ययन गर्न जानेहरुका लागि बढी खर्च गर्नुपर्ने हुन्छ ।
त्यस्तै, यस समय निर्यात बढाउन सके नेपालले बढी आम्दानी गर्न सक्छ । रेमिट्यान्स बढी भित्रन्छ किनकी रेमिट्यान्सग्राहीले पहिलेको तुलनामा बढी सटहीदर पाउँछन् । नेपाल डलरमा खर्च गर्ने पर्यटकका लागि सस्तो गन्तव्य हुन्छ किनकी डलरको खरिद क्षमता वृद्धि भएको छ । त्यसकारण नेपालले बढी पर्यटक भित्र्याई बढी विदेशी मुद्रा आर्जन गर्नेतर्फ सोच्नुपर्ने अर्थशास्त्रीहरु बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x