Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

विश्व सामाजिक मञ्च १६ औं संस्करणको अन्तिम तयारी पुरा 

विश्व सामाजिक मञ्च १६ औं संस्करणको अन्तिम तयारी पुरा 

काठमाडाैं, २ फागुन । “अर्को विश्व सम्भव छ” भन्ने नाराका साथ यही फागुन ३ देखि ७ गते (फेब्रुअरी १५ देखि १९) सम्म नेपालमा पहिलो पटक हुन लागिरहेको विश्व सामाजिक मञ्चको १६ औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।

यस्ले विश्वव्यापी रुपमा सामाजिक तथा जलवायु न्याय, मानवअधिकार, समानता, वातावरण संरक्षण, दिगो शान्ति कायम गर्दै मानव जगतको हित गर्नका लागि योगदान/दवाव प्रदान गर्ने पनि हाम्रो पत्रकार सम्मेलन मार्फत जानकारी दिइएकाे छ ।

आयोजक समिति नेपालका मातहतमा रहेका मेथोडोलजी तथा कार्यक्रम, लजिस्टिक, लेइजन, कम्युनिकेसन र आइटी, स्रोत व्यवस्थापन, मिडिया इन्गेजमेन्ट, रिसर्च र डकुमेन्टेसन, सेफगार्ड, समावेशी अडिट, अन्तराष्ट्रिय डेलिगेट्स समन्वय, सुरक्षा समन्वय उपसमितिहरुको क्रियाशीलता र अन्तराष्टिय काउन्सिल र एशिया प्यासिफिक समूहको सहजीकरणमा सम्पूर्ण तयारी पूरा भएको जनाइएकाे छ।

सम्मेलनमा १३ वटा मूल विधामा आधारित भएर ठूला साना गरी ४०२ वटा कार्यक्रमहरु दर्ता भएका छन् । कार्यक्रममा हालसम्म विश्वभरबाट ९२ देशका १२५२ वटा संस्था तथा समूहहरु स्वआयोजकका रुपमादर्ता भएका छन् । कार्यक्रममा करिव ४० देखि ५० हजार जनाकोसहभागीता रहने अपेक्षा गरिएको छ । विश्व सामाजिक मञ्च २०२४ को उद्घाटन समारोह फेब्रुवरी १५ मा काठमाडौंको भृकुटिमण्डपमा हुनेछ । विषयगत छलफल तथा सम्मेलनहरू र समानान्तर सत्रहरू १६-१८ फेब्रुवरी २०२४ मा भृकुटिमण्डप क्षेत्रमा आयोजित हुनेछन् । यस मध्ये अन्तर महादेशीय युवा मञ्च १७ फेब्रुवरी २०२४ मा आयोजना हुनेछ । हरेक दिन कार्यक्रमहरू विषयगत प्लेनरीबाट सुरु हुनेछन्, त्यसपछि समानान्तर सत्रहरू, सभा सम्मेलनहरू हुनेछन र दिनको अन्त्यतिर सांस्कृतिक कार्यक्रमहरूका साथ समाप्त हुनेछन् ।

मञ्चमा दर्ता भएका मुख्य कार्यक्रमहरुमा विभिन्न आन्दोलनहरुले आआफ्ना सवालहरुमा विमर्श गर्नेछन् । मजदुर आन्दोलनले उचित ज्याला, कामदारको अधिकार, आधुनिक दासता, आप्रवासनजस्ता विषयहरु उठाउनेछन् यसैगरी किसान र कृषि आन्दोलनले भूमि अधिकार, दिगो कृषि, खाद्य सुरक्षा, स्वच्छ व्यापारका सवालहरु उठाउँदै कृषि क्षेत्रमा देखिएका शोषण, असमानता जस्ता चुनौतिहरुमा वहस गर्नेछन् । विश्वव्यापी जलवायु न्याय मञ्चमा वातावरण संरक्षण, जलवायु परिवर्तनको असरबाट प्रभावित नागरिकहरुका सवाल, जलवायु न्याय जस्ता विषयमा छलफल हुनेछ ।

यसैगरी आदिवासी जनजाती समुदायका आवाज र सवालहरुलाई विश्वव्यापी रुपमा सङ्गठित गरी उनीहरुका ज्ञान, सीप, कला, संस्कृतिको जगेर्नाको काम गर्न विश्व आदीवासी जनजाती मञ्चको आयोजना हुँदैछ । यस्तै, व्यापार र मानवअधिकार सहित मर्यादित काम प्रवर्द्धन गर्ने गरी विश्व सभा हुँदैछ । यसैगरी असमानता र विभेद सम्वन्धी हुने युवासभाले आर्थिक वृद्धिले असमानतामा पार्ने प्रभाका वारेमा वहस गर्नेछ।

महिलावादी आन्दोलनले लैंङ्गिक समानता, महिला अधिकार, प्रजनन अधिकार, लैंङ्गिक हिंसा, शिक्षा र रोजगारीमा समान अधिकार जस्ता विषयमा वहस छलफल गर्नेछ । यसैगरी सीमान्तकृत सामाजिक समूहले लैंङ्गिक तथा यौनिक अल्पसंख्यक, आदिवासी जनजाती, अपाङ्गता भएका समुदायका सवालमा कार्यक्रमहरु गर्नेछन् । यस्तै डेमोक्रेसी मुभमेन्टले मानव अधिकार, पारदर्शी सरकार, डेमोक्रेटिक संस्थाहरुको संरक्षण, जवाफदेहिता जस्ता विषयमा वहस गर्नेछ । विश्वव्यापीकरण विरुद्धको आन्दोलनले विश्वव्यापीकरणले व्यापार, आर्थिक न्याय, सार्वजनिक सम्पतिको निजीकरणले पारेको प्रभावका वारेमा चर्चा गर्नेछ ।

शरणार्थी तथा आप्रवासन आन्दोलनले शरणार्थी र आप्रवासीहरुको अधिकार, विभेद र उनीहरुको आधारभुत मानवअधिकारका वारेमा छलफल गर्नेछ । वर्ल्ड डिग्निटी फोरममा विश्वमा जात, र जन्मका आधारमा हुने विभेद, वर्ण व्यवस्था र जात व्यवस्थाको असर, रंगका आधारमा हुने विभेद, वञ्चितीकरण, जलवायु परिवर्तन, विपद र असमानताले दलित तथा सीमान्तकृत समुदायमा पारेको प्रभाववारे बहस हुनेछ । साथै विभेदमुक्त विश्वका लागि विश्वव्यापी हस्ताक्षर कार्यक्रम पनि हुँदैछ । यसैगरी मिडिया कन्क्लेभ, वर्ल्ड मिडिया इन क्राइसिस जस्ता विषयमा वहस हुनेछ । विश्वमा भईरहेका युद्धका विरुद्ध आवाज उठाउँदै र शान्ति स्थापनाका पक्षमा ऐक्यबद्धता जनाइनेछ । समाजवादका पक्षधर, अध्येता राजनीतिज्ञ र बुद्धिजीवीहरुको उपस्थितिमा समाजवादको भविष्य विषयमा डिस्कोर्ष आयोजना हुनेछ ।

कार्यक्रम वाहेक हरेक दिन विश्वका विभिन्न देशका कला, साहित्य, सांस्कृतिक झाँकीहरु सम्मिलित सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुनेछन् । यसका साथै विश्व सामाजिक मञ्चको अन्तराष्ट्रिय काउन्सिलको सहजीकरणमा हरेक साँझ शान्ति र न्याय, अर्थतन्त्र : ऐक्यवद्दता, सामाजिक र पूँजीवाद, सामाजिक आन्दोलन, अभिव्यक्ति स्वतन्त्रता, फासिजम र रेसिजम, महिला आन्दोलन र संघर्ष, प्यालेस्टाइन समसामयिक सवाल जस्ता विषयमा सन्धयाकालिन क्याफे सम्वाद हुँदैछन् ।

विश्व सामाजिक मञ्चमा आयोजना हुने अधिकांश कार्यक्रम हाइब्रिड विधिमा सम्पन्न हुनेछन् । नेपाली, अंग्रजी, फेन्च, स्पेनिस, अरविक र पोर्तुगिज विवरण गरी ६ भाषामा पोडकास्टबाट अनुवाद हुनेछ । यसका लागि स्वयम सेवक अनुवादकको व्यवस्था कार्यक्रम सम्वन्धी गरिएको https://www.wsf2024nepal.org/activities बाट प्राप्त गर्न सकिनेछ । साथै WSF नामक एप्स डाउनलोड गरी सम्पूर्ण जानकारी प्राप्त गर्न सकिनेछ ।

मञ्चमा विभिन्न सामाजिक आन्दोलनका व्यक्तिहरु वक्ताका रुपमा आमन्त्रण गरिएको छ । मजदुर, किसान, महिला, दलित, युवा, अपाङ्गता भएका ब्यक्ति लैंङ्गिक अल्पसंख्यक, तथा सीमान्तकृत समुदायका व्यक्तिहरुले उद्घाटन समारोहमा सम्वोधन गर्नेछन् ।

नवउदारवाद, भूमण्डलीकृत पूँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, जातजाती, छुवाछुत तथा रंगभेद, नश्लभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषकाविरुद्धमा एकजुट भएर गरिने विश्वभरका सामाजिक आन्दोलन र नागरिक सङ्गठनहरुको सामूहिक शक्तिलाई एकत्रित गर्दै परिचालन गर्ने काम विश्व सामाजिक मञ्चले गर्दै आएको छ । नेपालमा हुने यस पटकको सम्मेलनले अहिलेको विश्व व्यवस्थाले अङ्गिकार गरेका नीति र संरचनाहरुले सृजना गरेका नकारात्मक प्रभावका वारेमा आलोचनात्मक वहस गर्दै वैकल्पिक सोच र विचारहरु निर्माण गर्न र नयाँ विश्व व्यवस्था र तदअनुरुपका नीति-संरचनाहरु निर्माण गर्न विश्वव्यापी रुपमा दवाव सृजना गर्ने अपेक्षा गरेकाे बताइएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x