Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

अर्थमन्त्री र डीएफसीका सिइओबीच लगानी सम्मेलन लक्षित भेटवार्ता

अर्थमन्त्री र डीएफसीका सिइओबीच लगानी सम्मेलन लक्षित भेटवार्ता

काठमाडाैं, ८ बैशाख । अर्थमन्त्री वर्षमान पुन र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी)का प्रमुख कार्यकारी अधिकृत (सिईओ) स्कट नाथनबीच भेटवार्ता भएको छ ।

विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त बसन्तकालीन बैठकमा सहभागी हुन वासिङ्टन डिसी पुगेका मन्त्री पुनबीच साइडलाइन वार्ता भएको हो ।

डीएफसी विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरूको समाधानका लागि लगानी गर्ने संस्था हो । उक्त संस्थाले ऊर्जा, स्वास्थ्य, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आएको छ ।

भेटमा मन्त्री पुनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त वातावरण बनाउन नेपाल प्रतिबद्ध रहेको बताए । नेपाल र अमेरिकाबीच १९६० मै निजी लगानीको ग्यारेन्टीसम्बन्धी सम्झौता भएको स्मरण गर्दै मन्त्री पुनले अमेरिका नेपालमा लगानी गर्ने तेस्रो ठुलो मुलुक भएको बताए।

उनले निजी क्षेत्रको प्रवर्द्धनका लागि कानुन, नीति, संस्था र कार्यविधिहरूमा परिमार्जन गरिएको तथा आवश्यकता अनुसार थप सुधार गर्ने बाटोमा रहेको भन्दै लगानीका लागि विश्वासको वातावरण बनाइने प्रतिबद्धता जनाए ।

नेपालको ऊर्जा क्षेत्रमा लगानीको सम्भावना राम्रो रहेकाले अमेरिकी लगानीकर्तालाई नेपालमा आउन मन्त्री पुनले आग्रह गरे।

मन्त्री पुनले सूचना प्रविधि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउँदा न्यूनतम सीमा लागू नहुने पनि स्पष्ट पारे । उनले नेपालले जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधिलाई लगानीको प्राथमिकताका क्षेत्रमा समावेश गरेको जनाकारी दिए ।

आगामी १६ र १७ वैशाखमा काठमाडौँमा हुने तेस्रो लगानी सम्मेलनमा १ सय ३० परियोजनाहरू शोकेस गरिने भन्दै डीएफसीका तर्फबाट सम्मेलनमा सहभागिता हुने आशा व्यक्त गरे ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x