Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ शूरू हुन १ दिन बाँकी, कस्ताे छ तयारी ? (भिडियाे)

चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ शूरू हुन १ दिन बाँकी, कस्ताे छ तयारी ? (भिडियाे)

काठमाडाैं, १० बैशाख । बैशाख १२ गतेदेखि आयोजना हुन गइरहेको चौथो संस्करणको ’हिमालयन हाइड्रो एक्स्पो २०२४’ को अन्तिम तयारी पूरा भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले एक्सपोको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । बैशाख १२ गते बिहान ६ः३० बजे विद्युतीय सवारी ¥याली गर्दै एक्स्पोको सुरुवात हुने र बैशाख १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको समुद्घाटन गर्ने कार्यतालिका तय भएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए।

नेपालमा लगानीको सम्भावनाका दृष्टिकोणले जलविद्युत सबै भन्दा ठूलो क्षेत्र हो । सरकारले सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र तयार गरेको छ भने भारतमा १० बर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता गरिसकेको छ । यस्तो अवस्थामा जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको इप्पानका वरिष्ठ उपाध्यक्ष, मोहन कुमार डाँगीले बताए । साथै तेस्रो लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना हुन गइरहेको एक्स्पोले सरकारलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत बृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका वारेमा ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने बताइएको छ। समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित आयोजना गर्न लागिएको एक्स्पोमा पहिलो इभी ¥यालीका अलवा प्रदर्शनीस्थल भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेश मिटिङहरु पनि आयोजना गरिने छ । एक्स्पोमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसी, लगायतका कम्पनीका प्रतिनिधिहरुसँग बिजनेश मिटिङ हुने एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रवन्ध निर्देशक विजय सागर प्रधानले बताए । एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरुको बुकिङ सम्पन्न भइसकेको उनको भनाइ छ ।

२०४९ सालमा निजी क्षेत्रलाई जलविद्युत आयोजनामा भित्र्याउने गरी कानुन निर्माण भएसँगै नेपालमा जलविद्युत आयोजनाको निर्माण र विद्युतको पहुँच विस्तार हुँदै गएको छ । १९६८ सालमा ५०० किलोवाट क्षमताको फर्पिङ जलविद्युत आयोजनाबाट सुरु भएको नेपालको जलविद्युतको यात्रा २०८० सम्म आईपुग्दा नेपालको कुल जडित विद्युत क्षमता करिब ३००० मेगावाट हुन पुगेको छ । ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रुप दिने गरी निजी क्षेत्रबाट भव्य एक्स्पो आयोजनाा गरिएको इप्पानका महासचिव बलराम खतिवडाले बताए ।

ऊर्जा, तथा जलविद्युत प्रवद्र्धक, लगानीकर्ता, व्यवसायी, उपकरण उत्पादक कम्पनी लगायत सबै पक्षलाई एकै ठाउँमा ल्याई जलविद्युतमा जलविद्युत उत्पादन, आवस्यक नयाँ उपकरण तथा आवस्यक लगानीबारे जानकारी दिन एक्सपो महत्वपूर्ण इप्पानको अपेक्षा छ । यसअघि पहिलो एक्स्पो २०७४, दोस्रो २०७५ र तेस्रो एक्स्पो २०७८ सालमा सम्पन्न भइसकेको छ । जलविद्युतमा नीजि क्षेत्रको दायरा साँघुरो र उत्पादन थोरै भएका कारण इप्पानले गरेको विगतका एक्स्पोहरु खासै उपलब्धीपूर्ण नभए पनि चौथो संस्करणको एक्स्पो प्रतिफलमुखी हुने विश्वास व्यक्त गरिएको छ ।

एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ। यी सबै प्राविधिक सत्रहरुलाई विश्वको जुनसुकै स्थानबाट पनि सजिलै भर्चुअल माध्यम प्रयोग गरी सहभागीता तथा अवलोकन गर्न सकिने बताइएको छ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x