ठुला लगानी नभित्र्याए सम्म बृहत आर्थिक विकास सम्भव छैन : नेता महत
काठमाडौं, २२ असार । पुर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा.रामशरण महतले काँग्रेसले कलकारखाना र उद्योगधन्दा बेच्यो भन्ने आरोप गलत भएको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको ९५ औँ जन्म जयन्तिका अवसरमा आयोजित जिपी र समृद्धि विषयक विचार गोष्ठीमा उनले कांग्रेसको नेर्तत्वमा रहेको बेला कुनै पनि उद्योग धन्दा निजीकरण नभएको प्रष्ट पारे ।
उनले कांग्रेसले नीजि र विदेशी पुँजी लगानीका लागि खुला गरेको बताए । अव ठुला लगानी र उद्यमशिलतालाई प्राथमिकतामा राखेर वृहत आर्थिक विकास र रोजगारी र्सिजना गर्न सके मात्र देशले समृद्धि हाँसिल गर्न सक्ने भन्दै सरकारको ध्यानकार्षण पनि गराए ।
त्यस्तै कार्यक्रममा पुर्व उद्योगमन्त्री नविन्द्रराज जोशीले आर्थिक विकास र रोजगार सृजनालाई प्रमुख आधार बनाएर उद्योगको विकास गर्नु पर्ने बताए । उनले आगामी आर्थिक बर्षको बजेटले नीजी क्षेत्रलाई वेवास्ता गरि त्रास दिएको आरोप समेत लगाए । निजी क्षेत्रलाई विश्वासमा नलिए सम्म मुलुकमा आर्थिक विकास र समृद्धि आउन नसक्ने भन्दै उनले नेपालको राजनीतिक र आर्थिक नीतिलाई गाइड लाइन दिने एकमात्र पाटी काँग्रेस भएके दावी समेत गरे ।