कुल ग्राहस्थमा उत्पादनमा बागमति प्रदेशको योगदान बढि हुने
काठमाडौं, १० जेठ । राष्ट्रिय तथ्यांक कार्यलयले सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांकका अनुसार कुल ग्राहस्थमा उत्पादनमा बागमति प्रदेशको योगदान बढि हुने अनुमान गरिएको छ ।
कुल ५७ खर्ब ५ अर्बको अर्थतन्त्रको आकारमा बागमति प्रदेशको योगदान ३६.४ प्रतिशत हुने अनुमान गरिएको हो । चालु आर्थिक वर्ष २०८०÷०८१ म २० खर्ब ७४ अर्ब रुपैयाँले बागमति प्रदेशको आकार बढ्ने कार्यलयको अनुमान हो ।
आर्थिक वर्ष २०८०÷८१ मा मुलुकको अर्थतन्त्र आकार ३.८७ प्रतिशतले विस्तार हुने अनुमान यस अघि नै सार्वजनिक गरिएको थियो ।
दोस्रोमा कोशि प्रदेशको अर्थतन्त्रको आकार १५. ८ प्रतिशत अर्थात् ९ खर्ब ३ अर्ब रहने भनिएको छ । यस्तै, लुम्बिनी प्रदेशको १४.३ प्रतिशत अर्थात् ८ खर्ब १४ अर्ब, मधेश प्रदेशको १३.१ प्रतिशत अर्थात् ७ खर्ब ४८ अर्ब, गण्डकी प्रदेशको ९.१ प््रतिशत अर्थात् ५ खर्ब १७ अर्ब, सुदुरपश्चिमको ७.१ प्रतिशत अर्थात् ४ खर्ब ४ अर्ब रहने कार्यलयको अनुमान छ । अर्थतन्त्रको आकारमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशकोक देखिन्छ । कुल अर्थतन्त्रको आकारमा कर्णालीको ४.३ प्रतिशत अर्थात् २ खर्ब ४४ अर्ब रहने उल्लेख छ ।
अर्थतन्त्रको आकार बागमतिको भएपनि अर्थतन्त्रको वृद्धिदर भने सबैभन्दा राम्रो गण्डकी प्रदेशको हुने सरकारी अनुमान छ । ४.५५ प्रतिशतले गण्डकी प्रदेशमा अर्थतन्त्रको आकार बढ्ने अनुमान गरिएको हो । कुल ग्राहस्थ उत्पादनमा गण्डकीको अर्थतन्त्रको आकार ९.१ प्रतिशत अर्थात् ५ खर्ब १७ अर्बको भएपनि अर्थतन्त्रको आकारको वृद्धिदर भने विस्तारित भएको तथ्यांकले देखाएको छ । सबैभन्दा थोरै वृद्धिदर कर्णालीको ३.३९ प्रतिशत हुने भनिएको छ । अर्थतन्त्रको वृद्धिदरमा दोस्रोमा लुम्बिनी प्रदेश(४.०५ प्रतिशत) को देखिएको छ ।
सबै प्रदेशमा आ.व.२०७८÷७९ को वृद्धिदरभन्दा आ.व.२०७९÷८० को वृद्धिदर कम देखिन्छ भने आ.व.२०७९÷८० को वृद्धिदरभन्दा आ.व.२०८०÷८१ को वृद्धिदर धेरै देखिन्छ।
औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिने उल्लेख छ । बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ । बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोवार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ ।
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा देखिन्छ । बागमती र मधेश प्रदेश बाहेकसबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ । बागमतीमा पानी आपुर्ती तथा फोहर व्यवस्थापनसम्बन्धी क्रियाकलाप र मधेशमा खनिज तथा उत्खनन् क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ । व्यापार क्षेत्रले मधेश प्रदेशमा पनि दोस्रो हिस्सा नै ओगटेको देखिन्छ ।
त्यसैगरी, चालु आर्थिक वर्षमा औद्योगिक वर्गीकरण अनुसार, औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर आवास तथा भोजन सेवाको सबैभन्दा धेरै (२१.८४ प्रतिशत) रहने प्रारम्भिक अनुमान गरिएको छ । लुम्बिनी प्रदेश बाहेक अन्य सबै प्रदेशको सबैभन्दा धेरै वृद्धिदर यही क्षेत्रको रहने प्रारम्भिक अनुमान छ । लुम्बिनी प्रदेशमा विद्युत क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै देखिन्छ । त्यसैगरी सुदुरपश्चिम र कोशी प्रदेशमा उद्योग क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून रहेको देखिन्छ भने अन्य प्रदेशमा निर्माण क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून छ । निर्माण क्षेत्रको वृद्धिदर सबै प्रदेशमा ऋणात्मक देखिन्छ भने उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर कर्णाली प्रदेश बाहेक अन्य प्रदेशमा ऋणात्मक देखिन्छ । राष्ट्रिय तहमा पनि यी दुई क्षेत्रको वृद्धिदर ऋणात्मक रहने प्रारम्भिक अनुमान गरिएको छ ।
बढि कमाउने जनता पनि बागमतिमै
चालु आर्थिक वर्ष २०८०÷०८१ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अर्थात् प्रतिव्यक्ति आय सबैभन्दा धेरै बागमती प्रदेशको हु्ने राष्ट्रिय तथ्यांक कार्यलयको अनुमान रहेको छ । चालु वर्ष २४८४ अमेरिकी डलर प्रतिव्यक्ति आय बागमतिको हुने भनिएको छ । देशको औषत प्रतियक्ति आय भने १४३४ डलर हुने अनुमान गरिएको छ । अघिल्लो वर्षमा पनि बागमति कै प्रतिव्यक्ति आय अन्य प्रदेशको भन्दा बढि हुने संशोधित अनुमान गरिएको छ । सबैभन्दा थोरै भने मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान रहेको छ । मधेश प्रदेशको प्रतिव्यक्ति आय ८९२ अमेरिकी डलर हुने देखिएको छ ।
यसैगरी दोस्रोमा गण्डकी प्रदेशको १५५७, कोशी प्रदेशको १३३६, लुम्बिनी प्रदेशको ११५९, सुदुरपश्चिम प्रदेशको ११११ र कर्णाली प्रदेशको १०६६ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय औषत प्रतिव्यक्ति आयसँग तुलना गर्दा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औषतभन्दा कम रहेको देखिन्छ ।