१८३ स्टार्टअप कम्पनीलाई सहुलियत कर्जा
काठमाडाैं, २६ जेठ ।सरकारले चालु आर्थिक वर्षमा १८३ स्टार्टअप फर्म तथा कम्पनीहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले शुक्रबार स्टार्टअप उद्यम कर्जा सिफारिसमा परेका परियोजनाहरूको विवरण सार्वजनिक गर्दै यस्ता जानकारी दिएकाे हाे ।
सिफारिस भएका फर्म तथा कम्पनीले सम्पर्क गर्ने राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको ठेगाना जेठ २९ गतेभित्र प्रकाशित गरिने प्रतिष्ठानले जनाएको छ । त्यसको ३० दिनभित्र सिफारिसमा परेका स्टार्टअपले तोकिएको शाखामा सम्पर्क गरी आवश्यक कागजात एवम् विवरण बुझाएर तोकिएको कर्जा पाउनेछन् ।
करिब साढे १६ सय कम्पनीले कर्जाका लागि आवेदन दिएकोमा प्रस्तुतीकरणबाट करिब साढे ३ सय कम्पनी छानिएका थिए । अन्तिम चरणको प्रस्तुतीकरण र क्रेडिट अप्राइजलबाट प्राप्त अङ्कभारको प्राथमिकताका आधारमा कर्जा प्रवाहका लागि १८३ कम्पनीलाई सिफारिस गरिएको हो ।
कम्पनीहरूलाई मूल्याङ्कनका आधारमा २५ लाखसम्मको कर्जा दिइने छ । तीन प्रतिशत ब्याजदरमा पाइने यो कर्जा दुई वर्षभित्र तिर्न शुरु गरिसक्नु पर्नेछ भने पाँच वर्षभित्र सबै कर्जा भुक्तानी गर्नुपर्ने नियम छ ।