११ महिनामा औद्योगिक क्षेत्रमा सवा २ खर्ब लगानी प्रस्ताव
काठमाडाैं, २० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालको औद्योगिक क्षेत्रमा झण्डै सबा २ खर्ब लगानी प्रतिवद्धता आएको छ ।
यस अवधिमा ४९ वटा ठूला , ५० वटा मझौला र २८४ वटा साना उद्योग गरी कुल ३८३ वटा उद्योग दर्ता भएका छन् । ती उद्योगमा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएकाे छ ।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार दर्ता भएका उद्योगहरूले २६ हजार २७ जनालाई नयाँ रोजगारी दिने प्रस्ताव गरेका छन् ।
विभागका अनुसार जेठ महिनामा मात्र कुल ५९ वटा उद्योगमा ३७ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।