लगानी सम्मेलनका आयोजनालाई पत्याएनन् लगानीकर्ताले, ८ आयोजनामा आशय माग्दा दुई वटामा मात्रै प्रस्ताव
काठमाडाैं, २० असार । लगानी सम्मेलनमा सोकेसमा राखिएका परियोजनामध्ये हालसम्म दुई परियोजनामा मात्र लगानीकर्ताको आशय पत्र प्राप्त भएको छ ।
तेस्रो लगानी सम्मेलनमा लगानी बोर्डको कार्यक्षेत्रभित्र पर्ने ८ वटा परियोजनामा मागिएको आशय पत्रको अवधि पूरा भई खोलिएकोमा २ वटामा मात्र लगानीकर्ता इच्छुक देखिएका हुन् ।
यसमध्ये जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेज परियोजना र बबरमहल एडमिनिस्ट्रेटिभ प्जाला गरी दुई परियोजनामा मात्र आशय पत्र प्राप्त भएको लगानी बाेर्ड नेपालले जनाएकाे छ ।
गत वैशाख १६ र १७ गते काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा सोकेमा राखिएका परियोजनामा इच्छुक लगानीकर्ताले आशयपत्र पेश गर्न बोर्डले दिएको समय सकिएको छ ।
यस अवधिमा २ परियाेजनामा मात्र आशय पत्र प्राप्त भएकोमा बोर्डले १२ वटा परियोजनाको लागि मागेको आशयपत्रको समय एक महिना थप गरेको छ ।