न्युनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँमा भयो सहमति, साउन १ गतेबाट लागु हुने

काठमाडौं, २५ असार । आगामी साउन १ गतेबाट मजदुरहरुको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ पाउने भएका छन् ।
विभिन्न सरोकारवाला निकाय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भएको वार्ताले मजदुरहरुको न्युनतम पारिश्रमिक तोकेको छ । अहिले न्युनतम पाउँदै आएको ९ हजार ७ सय रुपैयाँमा ३ हजार ७ सय ५० रुपैयाँ थप गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्ने सहमति भएको जनाइएको छ ।
९ पटकसम्म समितिको बैठक बस्दा समेत न्यूनतम पारिश्रमिक निर्धारण हुन सकेको थिएन। सरकारी निकाय तथा श्रमिकका प्रतिनिधिले १५ हजार रुपैयाँभन्दा कम तलब हुन नहुने अडान राखेका थिए भने व्यवसायीहरुले भने माग अनुसार पारिश्रमिक दिन नसकिने बताएका थिए । यसरी बसेको बैठकबाट सहमति जुट्न नसकेपछि सोमबार विहानका लागि बैठक बोलाइएको थियो । सोमबार दुवै पक्ष सहमत देखिएपछि ३ हजार ७५० रुपैयाँ थप गर्ने सहमति जुटेको हो। न्यूनतम पारिश्रमिक निर्धारण समितिले तय गरेको यो पारिश्रमिक साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।