उपत्यकाको १५५ स्थानमा अस्थायी पार्किङको व्यवस्था, न्यूरोड र दरबारमार्गमा भने साउन देखि स्मार्ट पार्किङ

काठमाण्डौं, २५ असार । काठमाडौं उपत्यका भित्रको सवारी पार्किङलाई व्यवस्थित बनाउन १ सय ५५ स्थानमा अस्थायी पार्किङको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकासँगको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ८३ स्थानमा कार, मोटरसाइकल र ७२ स्थानमा ट्याक्सी पार्किङ गर्ने गरि अस्थायी पार्किङ स्थान छुट्याएको हो ।
जस अनुसार जमल, भोटाहिटी, सुन्धारा, पुरानो बसपार्क, सुन्धान हुलाक गेट, खिचापोखरी, बागबजार शंकरदेव क्याम्पस गेट, धर्मपथ, दरबारमार्ग, ठमेल स्थित कर्मचारी सञ्चय कोष भवन तल, कमलपोखरी स्थित कृष्णपाउरोटीको पश्चिमतर्फ, कोटेश्वर, एयरपोर्ट, नयाँ बानेश्वर स्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र, लतिलपुरको एकान्तकुना,सातदोबाटो सहित उपत्यकाको विभिन्न अस्पताल अगाडी ७२ स्थानमा ५ सय ९ वटा सम्म ट्याक्सी पार्किङ गर्न मिल्ने गरि स्थान छुट्याएको छ ।
त्यस्तै दरबारमार्ग, रानीपोखरी, कमलादी स्थित प्रज्ञा भवनको पश्चिमी क्षेत्र, बागबजार पद्यमकन्या क्याम्पस छेउ, धर्मपथ, खिचापोखरी, प्युखा चोक, कलंकी मालपोत कार्यालय अगाडि सहित ८३ स्थानमा मोटरसाइकल तथा कार पार्किङको लागि स्थान छुट्याएको छ । योसँगै १ सय ३ स्थानमा बस पार्किङ स्थल निमार्ण प्रक्रिया अगाडी बढाइएको महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए । ति स्थानमा निःशुल्क पार्किङको सुविधा उपलब्ध हुने उनले बताए ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउन र सर्वसाधारणको दैनिकीमा सहजता ल्याउन अस्थायी पार्किङको व्यवस्था मिलाइएको प्रवक्ता मैनालीले बताए । त्यस्तै यो व्यवस्थाले सर्वसाधारणले सहजै बस र ट्याक्सी पाउन सक्ने र दुर्घटनाको सम्भावना समेत न्यून हुने विश्वास लिइएको छ । नेपालभरी हाल २७ लाख बढी साना तथा ठुला सवारी साधन संचालनमा छन् । त्यसमा उपत्यकामा मात्रै ११ लाख सवारी साधन संचालनमा रहेको महाशाखाको तथ्यांक छ ।
अस्थायी पार्किङको व्यवस्था पहिले देखि नै भए पनि बीचमा सडक विस्तार लगायतको कारणले बन्द भएको काठमाण्डौं महानगरपालिकाका सुचना प्रविधि महाशाखा प्रमुख महेश काफ्लेले बताए । सडकको छेउछाउमा सर्वसाधारणलाई हिड्नै अप्ठ्यारो हुने गरि पार्किङ गर्न थाले पछि पुन पार्किङ स्थल छुट्याइएको उनले बताए ।
काठमाण्डौंको दरबारमार्ग र न्युरोडमा भने साउनदेखि स्मार्ट पार्किङ शुरु हुने गरिने भएको छ । साउन पहिलो साता देखि सो स्थानमा परिक्षणका रुपमा पार्किङ सुरु गरिने र यसको प्रभावकारीतालाई हेरेर अन्य स्थानमा पनि स्मार्ट पार्किङ सुविधा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए । एकै स्थानमा धेरै सवारी पार्किङ गर्न सकिने भएकाले पनि उपत्यकामा भएको ट्राफिक जामको समस्या न्यूनिकरण गर्न यसले महत्वपुर्ण योग्दान दिने विश्वास लिइएको छ ।