भदौमा करिव साढे ५ अर्ब घट्याे नेपालले प्राप्त गर्ने प्रत्यक्ष विदेशी लगानी प्रतिवद्धता
काठमाडाैं, २ असाेज । चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो महीना भदौमा आउने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता घटेकाे छ ।
उद्याेग विभागका अनुसार साउनमा कुल ९ अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरको एफडीआई प्रस्ताव गरिएकोमा भदौमा नेपालले कुल ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता पाएको छ ।
साउनको तुलनामा भदौमा प्रतिबद्धता गरिएको एफडीआई ५ अर्ब ३२ करोड १ लाख रुपैयाँले कम हो ।
भदौमा स्वचालित मार्गबाट २६ करोड ५० लाख रुपैयाँ र साविककै प्रणालीबाट ३ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको विभागले जनाएकाे छ ।
साउनमा यस्तो प्रतिबद्धता स्वचालित मार्गबाट ५९ करोड ७५ लाख रुपैयाँ र साविककै प्रणालीबाट ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबरको थियो ।
चालू आवको साउनमा स्वचालित मार्ग र साविककै प्रणालीबाट आउने दुबै लगानी प्रतिबद्धता बढेकोमा भदौमा भने कमी आएको छ । भदौमा २१ ओटा परियोजना स्वचालित मार्ग र ३८ ओटा परियोजना साविककै प्रणालीबाट स्वीकृत भएका छन् ।
विदेशी लगानीका लागि विभागले उत्पादनमूलक, ऊर्जा, कृषिजन्य, पर्यटन, खनिज, सेवा, सूचना तथा प्रविधि र पूर्वाधार क्षेत्रका परियोजनाको लगानी स्वीकृत गर्दै आएको छ ।