मूल्यवृद्धि नगर्न उद्योगीहरूलाई उद्योग मन्त्री भण्डारीकाे आग्रह
काठमाडाैं १९ असाेज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगीलाई मूल्यवृद्धि नगर्न आग्रह गरेका छन् । चाडपर्वको मौकामा बजारमा खाद्यान्न, खानेतेललगायतको चर्को मूल्यवृद्धि भइरहेकोमा मन्त्री भण्डारीले चासो देखाएका हुन् ।
शुक्रबार नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घका पदाधिकारीसँग मन्त्रालयमा भेटघाट गर्नुहुँदै मन्त्री भण्डारीले उपभोक्तालाई मर्का नपर्ने गरी बजारमा खानेतेलको आपूर्तिको व्यवस्था सहज गर्न आग्रह गरे।
विपत् र चाडपर्वका बेला मूल्यवृद्धि गर्न नहुने भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलसहित बैठक बसेर उपभोक्तालाई मर्का नपर्ने गरेर समाधान निकाल्न निर्देशन समेत दिए ।
सङ्घका अध्यक्ष विकास दुगडसहितको टोलीले मन्त्री भण्डारीलाई मन्त्रालयमा खानेतेलको मूल्य र आपूर्ति अवस्थाबारे जानकारी गराएको छ । अध्यक्ष दुगडले अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तन र जलवायु परिवर्तनका कारण मूल्यवृद्धिको अवस्था आएको जानकारी गराए ।