मंसिरका लागि बैंकहरुले घटाए ब्याज, कुन बैंकको घट्यो ?

काठमाडौं , ३० कात्तिक । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। उनीहरुले सामान्य बचतमा ३ प्रतिशतमा सीमित छ भने मुद्दती खातामा ६ प्रतिशत हाराहारीमा तोकेका छन्।
बैंकहरुले मंसिर महिनाबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गर्दा कात्तिकको तुलनामा अधिकांशको घटेको छ। पछिल्लो समय निक्षेपको ब्याजदर घटेर बैंकमा पैसा थुप्रिए पनि कर्जा प्रवाह भने सुस्त छ।
मंसिर महिनाका लागि ८ वटा वाणिज्य बैंकले निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदर स्थिर राखेका छन् ।सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एउटाले बढाउँदा ८ वटाले यथावत राखेका हुन् । हिमालयन, एभरेष्ट, प्रभु, नेपाल, सिद्धार्थ नेपाल एसबीआई, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ब्याजदर घटबढ नगरेका हुन् ।
निक्षेपमा बैंकहरुले दिने अधिकतम ब्याजदरको औसत ५.९७ प्रतिशत कायम भएको छ । यो औसत कात्तिकको औसतभन्दा ०.२१७ प्रतिशत बिन्दु कम हो ।