कर सप्ताह सुरूः राजस्व संकलनमा जिम्मेवार हुन अर्थमन्त्रीकाे निर्देशन
काठमाडौं, २ मंसिर । गत शनिबारदेखि राष्ट्रिय कर दिवसका अवसरमा देशभर ‘कर प्रणालीको सार, लगानीको आधार’ नाराका साथ कर सप्ताह शुरु भएको छ । आन्तरिक राजश्व विभागले शनिबार १३ औं राष्ट्रिय कर दिवसको अवसरमा काठमाडौमा आयोजना गरेको कार्यक्रममा अर्थ मन्त्री पौडेलले सामान्य हिसाबले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताउनुभएको छ । उहाँले करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउनु पर्ने बताउनुभयो।
यसैगरी कार्यक्रममा अर्थ सचिव डा. रामप्रसाद घिमिरेले आर्थिक अवस्था दयनीय भएको भाष्य सिर्जना गर्न नहुने भन्दै मुलुकको आर्थिक अवस्था सुधारोन्मुख भएकाले निराश हुन नहुने बताउनुभयो । सबै मिलेर आर्थिक अवस्थालाई थप चलायमान बनाउनु पर्ने आवस्यकता औंल्याउँदै उहाँले कर प्रशासनका कर्मचारीहरुले सेवकको रुपमा जनताको काम गर्नुपर्ने बताउनुभयो ।
यस्तै राजश्व सचिव दिनेश घिमिरेले नीजि क्षेत्रलाई साथमा नलिइकन मुलुक अघि बढ्न सक्दैन भन्ने तथ्यलाई आत्मसात गरिएकाले सरकार नीजि क्षेत्रलाई साथ लिएर अगाडि बढिरहेको स्पष्ट पार्नुभयो । राजश्व वृद्धि गर्नका लागि नीजि क्षेत्र र नागरिकबाट आउने सुझावलाई ग्रहण गर्दै अर्थ मन्त्रालय र कर प्रशासन अघि बढ्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले राजश्व वृद्धि गर्ने उद्धेश्यका साथ कर प्रशासनलाई नवप्रवद्र्धनात्मक किसिमले परिचालन गर्ने गरी आवश्यक गृहकार्य अघि बढाइएको जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न व्यवसायिक संगठनका प्रतिनिधिहरुले राजश्व संकलन कार्यमा सामुहिक र एकतावद्ध प्रयास आवश्यक रहेको र राजश्व प्रशासन सच्चिएर अघि बढ्नुपर्ने आवश्यकता औल्याएका थिए । यस्तै कार्यक्रममा गत वर्ष विभिन्न विधामा सबैभन्दा बढि कर तिर्ने उत्कृष्ट नेपाल टेलिकम, नविल बैंक, तारागाउ रिजेन्सी होटल हायात लगायत विभिन्न क्षेत्रका ठूला करदातालाई सम्मान गरिएको छ । यसैगरि सबैभन्दा बढि कर उठाउने उत्कृष्ठ तीन कर कार्यालय र १० जना कर्मचारीलाई समेत पुरस्कृत गरिएको थियो भने उत्कृष्ट कविता वाचन गर्नेलाई पनि सम्मान गरिएको थियो । सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउदै आएको छ।