साख मुल्यांकनमा नेपाललाई ‘बीबी माइनस’ रेटिङ ग्रेड
काठमाण्डौ, ७ मंसिर । नेपालले पहिलो पटक सार्वभौम साख मूल्याङ्कन गराएको छ। क्रेडिट ‘रेटिङ’का लागि विश्वभर कहलिएको अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच’ ले नेपालको ‘रेटिङ’ गरेको हो । सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले सन्तोषजनक नतिजा पाएको छ ।
अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच क्रेडिट रेटिङ’ ले नेपाललाई ‘बीबी माइनस’ रेटिङ ग्रेड प्रदान गरेको हो । यो नतिजा भारतको भन्दा दुई स्थान तल तर दक्षिण एशियाका अरु देशहरुभन्दा राम्रो हो ।
नेपालमा विदेशी मुद्रा सञ्चिति बलियो अवस्थामा रहेको, आर्थिक गतिविधि चलायमान बन्ने संकेत देखिएकाले आर्थिक वृद्धिदरमा सकारात्मक वृद्धि हुने अनुमानका आधारमा उक्त ‘रेटिङ’ प्रदान गरेको फिचले जनाएको छ ।
‘रेटिङ’ले नेपालमा राजनीतिक स्थिरता भए आर्थिक सुधारको प्रशस्त सम्भावना रहेको पनि देखाएको छ ।
यस्तै राजनीतिक अस्थिरताले विकास परियोजना कार्यान्वयन प्रभावकारी नहुँदा मध्यमकालीन आर्थिक वृद्धिको परिदृष्य कमजोर रहेको पनि ‘फिच’ को प्रतिवेदनमा उल्लेख छ ।
साख मूल्यांकन प्रक्रियाअन्तर्गत स्थलगत अध्ययनका लागि ‘फिच क्रेडिट रेटिङ’ को टोली गत भदौ अन्तिम साता नेपाल आएको थियो । त्यसपछि फिचले नेपालको सोभरेन क्रेडिट ‘रेटिङ’ सार्वजनिक गरेको हो ।