१० दिनभित्र निर्माण व्यवसायीले भुक्तानी पाउने दावी
काठमाडाैं, २२ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले १० दिनभित्रै निर्माण व्यवसायीकाे बाँकी भुक्तानी दिने दावी गेका छन् ।
१७औं राष्ट्रिय निर्माण दिवसको अवसरमा शनिबार काठमाडौंमा प्रभातफेरी कार्यक्रममा सहभागी भएका मन्त्री दाहालले निर्माण क्षेत्र विना विकास निर्माणका कामहरू अघि बढ्न नसक्ने भन्दै उनीहरूको भुक्तानी प्रक्रिया अघि बढाउनका लागि आफूले शुक्रबार नै हस्ताक्षर गरिसकेको बताए ।
असोजको बाढी पहिरोले निर्माण सामग्री उत्पादन र आयातमा समस्या भइरहेको प्रति सरकार गम्भीर रहेको पनि उनकाे भनाइ छ। समयमै राज्यले निर्माण व्यवसायीहरूको भुक्तानी दिन नसक्दा अहिलेको समस्या आएको उनकाे ठहर छ ।
“निर्माण क्षेत्र विना विकास निर्माणका कामहरू अघि बढ्न सक्दैनन् । राज्यले निर्माण गर्दैन । राज्यको तर्फबाट पनि विकास निर्माणका लागि कम्पनी एउटा खोलेको छ तर त्यो कम्पनी निष्क्रिय जस्तै छ । जति पनि विकास निर्माण सम्बन्धी निर्माणका कामहरू छन् यो यहाँहरूको मार्फतबाट हुने गर्दछ” उनले भने “स्वाभाविक रूपले यहाँहरूका समस्याहरू समाधान हुनु पर्छ । यहाँहरू समस्यामा रहेर त्यो काम गर्न सक्नु हुन्न । राज्यको तर्फबाट पनि जिम्मेवार भएर जुन भुक्तानी दिनु पर्ने छ, त्यो समयमै दिनु पर्छ । समयमै दिन नसक्दा राज्य पनि नाजवाफ भएको छ ।”
मन्त्री दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तर्फबाट यसको समाधान निकालिसकेको बताउँदै मन्त्रालयको तर्फबाट निर्माण व्यवसायीले पाउने भुक्तानी १० देखि १२ दिनभित्र पाउने गरी फाइलमा हस्ताक्षर गरिसकेको बताए ।