भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्ड
काठमाडौ,३२ असार । अरनिको राजमार्गको भक्तपुर – काठमाडौ सडक खण्डमा सवारी दुर्घटना बढेपछि सवारी दुर्घटनालाई न्यूनीकरण गर्न भोलिबाट मालबाहक सवारीसाधनलाई टाइम कार्डको लागू गरिेने भएको छ ।
फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्ड लागू गर्न लागेको हो । टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्ने भएको छ ।
यस्तै महाशाखाले १ गतेदेखि नै जगाते–कोटेश्वर सडक खण्डको बाँयातर्फ मालबाहक र सार्वजनिक सवारीसाधन तथा दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका बस सञ्चालन गर्ने गरी योजना बनाएको छ ।यस्तै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर महाशाखाले बिहान ८ देखि १२ र साँझ ३ देखि ८ बजेसम्म टिपर तथा ट्रकलाई उपत्यकाभित्र प्रवेशमा रोकसमेत लगाएको छ । भने काठमाडौँ उपत्यकामा मात्र ११ लाख भन्दा बढी सवारीसाधन सञ्चालनमा रहेका छन् ।