पछिल्लो एक हप्तामा दैनिक औषत ९ अर्ब रुपैँया खर्च, रोकिएन बर्षको अन्त्यमा खर्च गर्ने प्रवृति
असार, ३२ काठमाडौं । आर्थिक वर्षको अन्तिम साता दैनिक औसत झन्डै ९ अर्ब रुपैँया खर्च भएको छ । आर्थिक बर्षको अन्त्यमा अरबौ रकम खर्च गर्ने पुरानै प्रवृति पछ्याउदैं यस पटक पनि आर्थिक बर्षको अन्त्यमा विकास खर्च अन्तर्गत अरबौ रुपिया खर्च गरिएको छ । महालेखा नियन्त्रण कार्यलयको रेकर्ड अनुशार पछिल्लो एक हप्तामा मात्रै ५८ प्रतिशतमा रहेको पुँजीगत खर्च बढेर असार ३१ गतेसम्ममा ७६ प्रतिशत पुगेको छ । यससँगै बर्षभारी सन्तुलित रुपमा प्रभावकारी ढंगले विकास खर्च गर्न नसक्ने प्रबृत्ति यस आर्थिक वर्षमा पनि दोहोरिएको छ । आर्थिक वर्षको अन्त्यमा आइपुग्दा ३ खर्ब ३५ अर्ब रुपैँया विकास खर्चमध्ये २ खर्ब ५५ अर्ब रुपैँया अर्थात ७६ दशमलब १३ प्रतिशत मात्रै खर्च भएको छ । पछिल्लो एक हप्तामा मात्रै करिब ६० अर्ब रुपैँया पुँजीगत खर्च भएको छ ।
चालु खर्च गर्ने कार्यमा भने सरकार अगाडि नै देखिएको छ । विकास खर्च मानिने पुँजीगत खर्च ७६ प्रतिशत रहँदा चालु खर्च चाँही ८६ प्रतिशत भन्दा बढी पुगेको छ । सरकारी ढुकुटीबाट तलब भत्ता खाने पदाधिकारी तथा कर्मचारी र दैनिक कार्यालय संचालन लगाएतका खर्च समेटिने चालु खर्चको रकम प्राय सबै खर्च हुने प्रबृत्ति रहँदै आएको छ । यस वर्ष केन्द्रीय तथा प्रदेश निर्वाचन र संघीय संरचनाको व्यवस्थापन लगाएतमा खर्च भएका कारण पनि चालु खर्चको रकम बढेको हो । राजश्व संकलनमा भने सरकार लक्ष्यको नजिक पुगेको छ । असार ३१ गते सम्ममा लक्ष्यको झन्डै ९८ प्रतिशत अर्थात ७ खर्ब १४ रुपैँया संकलन भएको छ ।
यता पुँजी बजारका रुपमा रहेको शेयर बजार पनि आर्थिक वर्षको शुरुमा भन्दा ३ सय ९२ अंकले घटेको छ । शुरुमा नेप्से परिसूचक १६०४ रहेकोमा आर्थिक वर्षको अन्तिम दिनमा १२१२ मा झरेको छ । अघिल्लो आर्थिक वर्षमा ४ दशमलब ५ प्रतिशत रहेको मूल्यबृद्दि दर पछिल्लो ११ महिनामा ४ दशमलब १ मा झरेको छ । पछिल्ला दुई वर्षमा भएको आर्थिक बृद्दिका कारण अर्थतन्त्रको आकार करिब ४ खर्बले बढेर ३० खर्ब भन्दा बढी भएको र चालु आर्थिक वर्षमा ५ दशमलब ९ प्रतिशत आर्थिक बृद्दिदर रहने अनुमान नेपाल राष्ट्रबैंकले रहेको छ ।