Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

विप्रेषण आप्रवाहमा सुधार, मुद्रास्फिति स्थिर

विप्रेषण आप्रवाहमा सुधार, मुद्रास्फिति स्थिर

काठमाडौं, ३२ असार । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा विप्रेषण आप्रवाह, पुँजी हस्तान्तरण तथा प्रत्यक्ष वैदेशिक लगानीमा आएको सुधारका कारण शोधनान्तरको अवस्थामा सुधार आएको छ । उच्च आयातका वावजुद विप्रेषण, पुँजी हस्तान्तरण र वैदेशिक लगानीमा सुधारले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा शोधनान्तर घाटा ४ अर्ब ३४ करोड रुपैँया रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो महिनासम्म शोधनान्तर घाटा १८ अर्ब ९३ करोड रुपैँया रहेको थियो । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा कुल ११ खर्ब ७ अर्ब रुपैँयाको आयात गरी ७४ अर्ब ३१ करोड रुपैँयाको निर्यात गरेको छ । समीक्षा अवधिमा १० खर्ब ३३ अर्ब रुपैँया व्यापार घाटा भएको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक परिदृश्य अनुसार, समीक्षा अवधिमा ६ खर्ब ७९ अर्ब रुपैँया विप्रेषण भित्रिएको छ । यो अवधिमा वैदेशिक रोजगारीका लागि बाहिरिनेहरुको संख्या ८ दशमलव ३ प्रतिशतले कमी आए पनि विप्रेषण आप्रवाहमा सुधार आएको छ । अमेरिकी डलर मजबुत हुँदा सटही दरको फाइदा लिन विदेशबाट पैसा पठाउने क्रम बढेको हो । अर्कोतर्फ, नेपाली मुद्रा अवमूल्यन हुँदा रेमिट्यान्सको वृद्धिदर गत वर्षको तुलनामा केही वृद्धि भएको हो । त्यस्तै, समीक्षा अवधिमा १५ अर्ब ८८ करोड रुपैँया प्रत्यक्ष वैदेशिक लगानी आएको छ । गत वर्ष सोही अवधिमा १२ अर्ब २७ करोड रुपैँया प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।
त्यस्तै, मुद्रास्फिति भने स्थिर देखिएको छ । अघिल्लो महिनाजस्तै ११ महिनामा पनि उपभोक्ता मुद्रास्फिति ४ दशमलव १ प्रतिशत रहेको छ । चालु वर्षको ११ महिनामा औसत उपभोक्ता मुद्रास्फिति ४ दशमलव १ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x