साउन लागे सँगै मेहेन्दी र हरियो चुराको व्यापार फस्टायो, राजधानीका चुरा पसलहरु हरिया चुरा र पोतेले भरी भराउ
मानमती पाण्डेय
काठमाण्डौँ, १ साउन । हिन्दु नारीहरुका लागि विशेष मानिने साउन महिना बजारमा मेहेन्दी, हरिया चुरा र पोतेको व्यापार निकै फस्टाएको छ । विउटिपार्लर देखी सडकका पेटीमा आज हरिया चुरा लगाइ मेहेन्दीका बुट्टाले हात सजाउने हरुको निकै घुइचो देखीन्छ । अन्य समयमा खासै मेहेन्दीको व्यापार नभए पनि असारको अन्तिम देखी मेहेन्दी र चुराको व्यापार निकै फस्टाएको कमलेस ठाकुरले बताए । उनि ७ बर्ष देखी काठमाण्डौको असन क्षेत्रमा मेहेन्दीका डिजाइन कोर्ने काम गरिरहेका छन् । उनले आज विहानै देखी ३० जनाको हातमा मेहेन्दीका बुट्टा भरेको बताए । कमलेश हातमा मेहेन्दीका बुट्टा भरेको १ सय ५० रुपैयाँ लिने गरेका छन् । उनि भन्छन ‘ब्यूटी पार्लरमा मेहेन्दीलगाएको ३ सय रुपैयाँबाट शुरु हुन्छ तर हामी फुटपाथमा सस्तोमा लगाउछौँ । त्यसैले पार्लर भन्दा फुटपाथमा मेहेन्दी लाउन आउनेको भिड बढि छ ।’
साउन महिना शुरु हुनु अगाडी नै राजधानीका चुरा पसलहरु हरिया चुरा र पोतेले भरी भराउ छन् । डिल्लीबजारकी प्रमीला केसीलाई अहिले बिहान देखि बेलुकी सम्मै फुर्सद छैन । उनी भन्छिन–‘साउन महिना त चुरा व्यापारीलाई तिहार जत्तिकै हुन्छ, महिलाहरुको भिड नै लाग्छ । आज विहानै देखी उनि चुरा र मेहेन्दी लाउनमा व्यस्त छिन् । उनको पसलमा १० रुपैयाँ देखी ५ हजार सम्मका चुरा छन । उनले भनिन ‘मेटलका चुराहरु दर्जनको हिसावले भन्दा पनि सेटमा आउँछन । यस्ता सेट चुराहरु ८० रुपैयाँदेखि सुरु हुन्छ । ’ सामान्य रुपमा बजारमा काँचका ४० रुपैयाँ प्रतिदर्जन र मेटलका चुरा १ सयदेखि ५ सय सम्मका चुराहरु बढि विक्रि भएको उनले बताइन ।
हरिया चुरा र मेहेन्दी किन लगाउने र लगाउदा के हुन्छ भन्ने कुरा थाहा नभएपनि साउन महिना भरि साथिहरुले लगाएको देख्दा रहर लागेको बनस्थलीकी सरस्वती कट्टेल बताउछिन । हरियो वस्त्र, हरियो चुरा, हरियो पोते हत्केलामा मेहन्दीले सजिएका किशोरी, युवती र प्रौढहरुलाई देख्दा हिन्दु संस्कार, संस्कृति र विश्वास अझ गाढा बन्दै गएका अनुमान गर्न सकिन्छ ।
पछिल्लो समयमा हरियो चुरा, मेहन्दी फेसन बनेको छ जसले बालिका, युवती, वयस्क सबै उमेर समुहका महिलामा हाबी छ । विवाहित हुन या अविवाहित, हरिया पहिरनमा सबै युवतीहरुको आकर्षण देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन भने अविवाहित युवती पनि आर्कषण र रमाईलोको लागी हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउँने गर्दछन । पछिल्लो समय धेरै सेलिब्रेटीहरुले पनि साउनलाई फेसनको रुपमा लिएका छन भने मेहेन्दी, चुरा र हरिया पहिरन लगाएर साउनलाई फेसनमय बनाएका छन । विभिन्न कारणले साउन अहिले हरियालीमय बनेको छ । हातमा मेहेन्दी, हरियो चुरा र हरिया पहिरन नलगाइ हिड्ने महिलाहरु विरलै देख्न पाइन्छ ।