सरकारी खर्च बढेपछि बैंकको निक्षेप पनि बढ्यो, असारमा मात्रै ८१ अर्ब रुपैँया थपियो
काठमाडौं, ६ साउन । सरकारको खर्च वृद्धिसँगै बैंकहरुमा निक्षेप पनि थपिएको छ । असार महिनामा मात्रै वाणिज्य बैंकहरुमा ८१ अर्ब रुपैँया निक्षेप थपिएको नेपाल बैंकर्स संघले जनाएको छ । गत आर्थिक वर्षको अन्तिम महिना असारको १ गतेसम्म बैंकहरुको कुल निक्षेप संकलन २,२७४ अर्ब रुपैँया रहेकोमा असार मसान्तसम्म २,३५५ अर्ब रुपैँया पुगेको छ । बैंकमा एक महिनाको अवधिमा उल्लेख्य निक्षेप बढ्नुको कारण सरकारी खर्चमा बढोत्तरी रहेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए ।
गत आर्थिक वर्षमा बैंकहरुले कुल २,३५५ अर्ब रुपैँया निक्षेप संकलन गरी २,०९० अर्ब रुपैँया ऋण लगानी गरेका छन् । आर्थिक वर्ष २०७४–७५ मा निक्षेप ३५४ अर्ब रुपैँयाले बढेकोमा कर्जा लगानी ३६९ अर्ब रुपैँयाले बढेको छ ।
कर्जा लगानीको माग बढे पनि सो अनुसार निक्षेप संकलन हुन नसक्दा गत आर्थिक वर्षमा निक्षेप तथा कर्जाको दर उच्च रहन गयो । मौद्रीक नीति २०७४–७५ को समीक्षाका क्रममा नेपाल राष्ट्र बैकले अघिल्ला आर्थिक वर्षमा कर्जा तथा निक्षेपको भारित औसत ब्याजदर क्रमशः १२ दशमलव ४२ प्रतिशत र ६ दशमलव ६१ प्रतिशत रहेको उल्लेख गरेको छ । बैंकहरुको कर्जा र निक्षेपको ब्याजदर अन्तर ५ प्रतिशतभित्रै राख्नुपर्ने भनिएपनि ब्याजदर स्प्रेड ५ दशमलव ८१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।
गत वर्ष ऋणयोग्य रकमको अभावका कारण निक्षेप संकलन वृद्धि गर्न बैंकहरुले निक्षेपमा बढाएको ब्याजदरको असर कर्जाको ब्याजदरमा पनि देखिएको हो । न्यून पुँजीगत खर्च, रेमिट्यान्स आप्रवाहको वृद्धिदर खुम्चिनु तथा निर्यात तुलनात्मक रुपमा कमजोर हुनले बैंकहरुमा निक्षेप संकलन उल्लेख्य बढ्न नसकेको हो । यद्यपि कर्जाको माग भने उच्च रह्यो । खासगरी आयातका लागि हुने कर्जा लगानी, निर्माण र औद्योगिक क्षेत्रमा कर्जाको माग उल्लेख्य रहेको बैंकर्सहरुले बताएका छन् ।
कर्जा लगानीको तुलनामा निक्षेप संकलन कमजोर हुँदा निक्षेप र बैंकको प्राथमिक पुँजी योगको ८० प्रतिशतसम्म मात्र कर्जा लगानी गर्नुपर्ने नियामकीय आवश्यकतामा बस्न बैैंकहरुलाई हम्मे परेको थियो । अधिकांश बैंकको कर्जा लगानी बढेर ८० प्रतिशतको नियामकीय सीमा नाघिसकेको अवस्थामा असार महिनामा सरकारको खर्चमा बढोत्तरीले ८१ अर्ब रुपैँया प्रणालीमा भित्रिएपछि बैंकहरुको निक्षेप र प्राथमिक पुँजी योगको तुलनामा ७८ प्रतिशत कर्जा लगानी भएको छ । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुको प्राथमिक पुँजी (टायर १ क्यापिटल) ३२० अर्ब रुपैँयाजति रहेको छ ।
असार महिनामा सरकारले २०३ अर्ब रुपैँया बजेट खर्च गरेको थियो जसमध्ये ७३ अर्ब रुपैँया पुँजीगत बजेट खर्च भएको हो । आर्थिक वर्षको क्यालेण्डरको अन्तिम महिना असारको अन्तिम दिनमात्रै १४ अर्ब ६३ करोड रुपैँयाको भुक्तानी निकासा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । जसमध्ये १२ अर्ब पुँजीगत बजेटतर्फको भुक्तानी निकासा भएको हो । सरकारले गत आर्थिक वर्षमा १,२७९ अर्ब रुपैँयाको बजेट सार्वजनिक गरेकोमा १,०७३ अर्ब रुपैँया खर्च गरेको थियो ।