नेप्सेको सीईओ नियुक्ति प्रक्रिया : संक्षिप्त सूचीमा परेका ५ उम्मेदवारद्वारा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण

काठमाडाैं, ६ चैत्र । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि संक्षिप्त सूचीमा परेका पाँच जना उम्मेदवारहरूले आज आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका छन् ।
गत फागुन १२ मा पहिलोपटक आवेदन माग गर्दा १२ जनाले आवेदन दिएका थिए । त्यसपछि अर्थ मन्त्रालयले चैत ३ गते सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा नियुक्ति सिफारिस समिति गठन गरी पाँच जनाको नाम सार्वजनिक गरेको थियो ।
संक्षिप्त सूचीमा परेकाहरूमा चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् । उनीहरूले आज अर्थ मन्त्रालयसमक्ष आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका हुन् ।
सिफारिस समितिले उम्मेदवारको व्यावसायिक कार्ययोजनामा ४० अंक, शैक्षिक योग्यतामा १२ अंक, कार्ययोजनाको प्रस्तुतीकरणमा १८ अंक र अन्तर्वार्तामा ३० अंक गरी कुल १०० अंकको मूल्यांकन गर्नेछ ।
प्रस्तुतीकरणपछि समितिले पाँच जनामध्ये तीन जनालाई छनोट गरी अर्थ मन्त्रालयलाई सिफारिस गर्नेछ, जसबाट अन्ततः एक जनालाई सीईओ पदका लागि नियुक्त गरिनेछ ।