टीआरसी टुंग्याउन दुई आयोग गठन गर्ने प्रमुख तीन दलबीच सहमति

काठमाडौँ, ११ चैत्र । प्रमुख तीन दलका शीर्ष नेताबीच संमणकालीन न्याय (टीआरसी) विधेयक टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बैठकले यो सहमति जुटाएको हो ।
तीन दलको छलफलमा शान्ति प्रक्रियाको बाँकी काम अगाडि बढाउन सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठन गर्ने विषयसँग गासिएकाले दुईवटा आयोग गठन गर्न सर्च कमिटी बनाइने प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले बताए । ‘वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तको लागि सिफारिस समिति, सर्च कमिटि गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरुसँग परामर्श गर्नुभयो र परामर्श अनुसार सिफारिस समितिको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।
बैठकमा गृहमन्त्री रमेश लेखक, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतलगायत पनि सहभागी थिए ।