एक वर्षमा सुनको मूल्य झण्डै आधा लाख बढ्यो, नयाँ वर्षमा मूल्य घट्ला कि बढ्ला ?

काठमाडौं, १ वैशाख । सुनचाँदीको कारोबारमा वर्षभर उतारचढाव आउँदै मूल्यका हिसाबले पनि नयाँ रेकर्ड कायम राख्दै २०८१ लाई बिदाई गरेको छ । वर्षको पहिलो महिना बैशाख अधिकतम प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँसम्म कारोबार भएको छापावाल सुन चैत्रको ३१ गतेसम्म आइपुग्दा १ लाख ८६ हजार रुपैयाँ मूल्य पुगेको हो ।
एक वर्ष (२०८१) को अन्तरालमा ४६ हजार ७ सय रुपैयाँले वृद्धि भएको सुनको मूल्य अझै वृद्धि हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले बताउँदै आएको छ । यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।
सुनचाँदीको मूल्यले प्रतिदिन रेकर्ड ब्रेक गर्दै जाँदा २०८१ सालमा यसको खरिद बिक्री पनि उच्च भएको हो । सुन चाँदीको मूल्य अझै बढ्न सक्ने आंकलन भएपछि किन्नेक्रम पनि बढ्दो छ ।
कुन महिना कति मूल्यले बढ्यो सुन ?
सुनचाँदीको मूल्य यो वर्ष अघिल्लो वर्षको तुलनामा खरिद, बिक्री र मूल्य दुवै हिसाबले बढेको छ । सुनको मूल्य बढ्दै जाने विषयको मध्यनजर गर्दै सुन बिक्री गर्ने भन्दा पनि खरिद गर्नेको संख्या बढिरहेको सुन पसलका व्यवसायी बताउँछन् ।
महासंघका अनुसार गत वैशाखमा छापावाल सुनको अधिकतम मूल्य प्रतितोला एक लाख ३९ हजार ३०० र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । सो महिना प्रतितोला छापावाल सुन १ लाख ३४ हजार ५०० र तेजाबी सुन १ लाख ३८ हजार ५० रुपैयाँमा न्यूनतम कारोबार भएको महासंघले बताएको छ ।
वर्षको पहिलो महिना मूल्यका हिसाबले दिनहुँ घट्ने र बढ्ने भई राख्यो । यस्तै, जेठमा छापवाल सुनको मूल्य अधिकतम १ लाख ४५ हजार र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा पुग्यो । महासंघका अनुसार जेठमा छापवाल सुनको मूल्य न्यूनतम एक लाख ३६ हजार ३०० र तेजाबी सुन १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
उक्त महिनाको बिचमा १/२ हजार रुपैयाँ घट्ने बढ्ने गर्दै कारोबार भएको महासंघले बताएको छ । यसैगरी असारमा छापावाल सुनको मूल्य १ लाख ४६ हजार ९०० र तेजावी सुनको अधिकतम मूल्य १ लाख ४६ हजार २०० रुपैयाँसम्म कायम भएको थियो । यस्तै, न्यूनतम तेजाबी सुनको मूल्य असारमा १ लाख ४० हजार १०० र छापवालको १ लाख ४० हजार ८०० रुपैयाँमा कारोबारमा भएको महासंघले जानकारी दिएको छ ।
यसका साथै साउनमा छापावाल सुनको मूल्य अधिकतम १ लाख ५० हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ४९ हजार १०० रुपैयाँमा पुग्यो । छापावाल सुनको मूल्यमा सोही महिना गिरावट आउँदा न्यूनतम मूल्य १ लाख ४४ हजार ७०० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।
यसका साथै भदौमा छापावाल सुनको मूल्य अधिकतम एक लाख ५७ हजार ३०० र न्यूनतम १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार असोजमा सुनको मूल्य वृद्धि भई छापवालको मूल्य १ लाख ६१ हजार ८०० रुपैयाँसम्म पुगेको थियो । तर, महिनाको केही दिनका सुनको मूल्य घट्दा न्यूनतम १ लाख ५५ हजार ६०० रुपैयाँमा पनि कारोबार भएको थियो ।
यसैगरी कार्तिकमा पनि सुन चाँदीको मूल्य घट्दै बढ्दै गरी रह्यो । कार्तिकमा अधिकतम एक लाख ७१ हजार पुगेको सुनको मूल्य न्यूनतम १ लाख ६० हजार रुपैयाँमा पुगेर पनि कारोबार भएको थियो । मंसिरमा प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँसम्म मूल्य पुगेको सुन न्यूनतम सोही महिना १ लाख ४८ हजार ७०० मा कारोबार भएको सुन पुसमा अधिकतम १ लाख ५५ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
साेही महिना सुनको मूल्यमा भारी गिरावट आएर न्यूनतम एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएकाे महासंघले बताएको छ । यस्तै, माघमा प्रतितोला अधिकतम १ लाख ७० हजार २०० र न्युतम १ लाख ५५ हजार रुपैयाँसम्म कारोबार भएको थियो । फागुनमा एक लाख ७१ हजार ३०० रुपैयाँमा अधिकतम मूल्यमा कारोबार भएको सुनको मूल्य घट्दा सोही महिना १ लाख ५७ हजार ५०० रुपैयाँमा पनि खरिद बिक्री भएको थियो । यस्तै, चैत्रको अन्तिम दिन आज एक लाख ८६ हजार रुपैयाँ मूल्य पुगेर नयाँ रेकर्ड कायम राख्दै २०८१ लाई बिदाई गरेको हो ।
अब सुनचाँदीको मूल्य घट्ला कि बढ्ला ?
सुनचाँदीको मूल्यका विषयलाई लिएर बढ्ने प्रक्षेपण गरिँदै आएता पनि बेलाबेला यसमा आउने गिरावटले धेरैलाई अत्याएको पनि छ । तर, सुनको मूल्य वृद्धि हुँदै गए कतै सुन भविष्यमा किन्न नसकिने हैन भनेर धेरै मान्छे सोचमग्न छन् । महिनैपिच्छे सुनको मूल्यले नयाँ रेकर्ड बनाइराख्दा अब सुनको मूल्य घट्ने हो वा अझै बढ्ने हो त्यो हेर्न बाँकी छ ।
यद्यपि अझै सुनको मूल्य बढ्ने प्रक्षेपण गरिँदा सुन किन्ने कि नकिन्ने भन्ने विषयमा एउटा जमात अन्योलमा छ । तर, नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान शाक्य सुनचाँदीमा आफ्नो लगानी सुरक्षित गर्ने समय यही रहेको बताउँछन् ।
आगामी वर्ष (२०८२) मा पनि सुनको मूल्य बढ्ने शाक्यको भनाई छ । उनका अनुसार सुन अब सीमित व्यक्तिले मात्र किन्नेसक्ने अवस्था आएको पनि बताए । ‘सुन धेरैको पहुँचमा अब रहँदैन, सुनको मूल्य अझै बढ्छ, यसको मूल्य २ लाख रुपैयाँमाथि पुग्छ,’ उनले भने । शाक्यका अनुसार सुनको मूल्य बढ्ने सम्भावना भएकाले यसलाई सुरक्षित गर्नु उपयुक्त हुन्छ ।