‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन विश्व नेतृत्व र विज्ञलाई पर्यटन बोर्डको आह्वान

काठमाडौं, १२ वैशाख । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले मे १६ देखि १८ २०२५ सम्म काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन आग्रह गरेका छन् ।
टर्कीको इस्तानबुलमा २१ देखि २३ अप्रिलसम्म आयोजित ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) वार्षिक सम्मेलन २०२५’ लाई सम्बोधन गर्दै सीईओ जोशीले काठमाडौंमा हुने जलवायु परिवर्तन र दिगो भविष्य सम्बन्धी अन्तर्राष्ट्रिय छलफलमा विश्वव्यापी नेतृत्व र विज्ञलाई सहभागी हुन आमन्त्रण गरेका हुन् ।
आगामी सगरमाथा संवाद २०२५ प्रवर्द्धन गर्दै सम्मेलन क्रममा पर्यटन बोर्ड र पाटाबीच साझेदारी सम्झौता समेत भएको छ । जस अन्तर्गत ’टुरिज्म ह्वाइट पेपर’ निर्माण, संयुक्त फोरम स्थापनाका संस्था सुदृढीकरणका कार्यक्रममा सहकार्य गरिने छ ।
त्यसैगरी सीईओ जोशीले वैश्विक पर्यटन समुदायलाई विशेष अपिल गर्दै जुन ३ देखि ५ सम्म काठमाडौंमै हुने ‘हिमालयन ट्राभल मार्ट’ मा पनि सहभागी हुन अन्तर्राष्ट्रिय खरिदकर्ता र पर्यटन व्यवसायीलाई आग्रह गरे ।
सम्मेलन अवधिभरि बोर्डको प्रतिनिधिमण्डलले पर्यटन विज्ञ, तथ्यांक वैज्ञानिक, आर्टिफिसियल इन्टिलिजेन्स (एआई) विशेषज्ञ तथा वातावरणविद्सँग विभिन्न छलफल र बैठक गरेको छ ।
सम्मेलन क्रममा नेपालको पर्यटन क्षेत्रलाई दिगो, तथ्यमा आधारित र विश्वसनीय गन्तव्यका रूपमा पुनस्र्थापना गर्ने रणनीति सुदृढ गर्ने विषयमा छलफल भएको बोर्डले जनाएको छ ।