नयाँ बजेटमा पुरानै आयोजनालाई निरन्तर दिने तयारीमा भौतिक मन्त्रालय

काठमाडौँ, १७ वैशाख। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी बजेटमा पहिलो प्राथमिकता पुराना आयोजनालाई दिने भएको छ । सकेसम्म नयाँ आयोजना नथप्ने तयारी गरिरहेको मन्त्रालयले आगामी बजेटमा निर्माण सम्पन्न हुन लागेका र राष्ट्रिय गौरवका आयोजनालाई बढी प्राथमिकतामा राख्ने तयारी गरेको छ ।
८० प्रतिशत सम्पन्न भएको आयोजनामा शतप्रतिशत निर्माण सम्पन्न गर्ने गरी बजेट व्यवस्थापन गर्न प्राथमिकता दिने मन्त्रालयको तयारी छ । चालु आर्थिक वर्षको तुलनामा मन्त्रालयले घटाएर आगामी वर्षका लागि बजेट सिलिङ तोकेको छ । मन्त्रालयको बजेट चालु वर्षमा १ खर्ब ५० अर्ब ५४ करोड थियो । तर ३.८४ प्रतिशतले सीमा घटाइएको छ । अर्थात् मन्त्रालयले आगामी आर्थिक वर्षलाई १ खर्ब ४४ अर्ब ७५ सिलिङ तोकेको छ ।
आगामी वर्षको कुल बजेटमध्ये राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) लाई २४ अर्ब विनियोजन हुने निश्चित छ । उक्त बजेट छुट्याउन अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगले ‘एयरमार्क’ गरिसकेको छ । सरकारले आगामी वर्षको बजेटमा रेल्वे विकास आयोजनाका लागि गत वर्षकै हाराहारी बजेट छुट्याउने तयारी गरेको छ । अर्थात् रेलका लागि करिब ४ अर्ब बजेट छुट्याइँदै छ ।
पूर्वपश्चिम रेलमार्गअन्तर्गत अहिले जयनगरबाट बर्दिबाससम्म निर्माणको काम भइरहेको छ । यसको विकासका लागि ४ अर्ब बजेट उछिट्ट्याइदिन रेल विभागले प्रस्ताव गरेको छ ।
कुन वर्ष कति थियो बजेट ?
सबैभन्दा धेरै विकास निर्माणको गतिविधिमा बजेट खर्च हुने मन्त्रालय हो, भौतिक पूर्वाधार । यसै मन्त्रालयबाट विकास निर्माणका अधिकांश काम सम्पन्न गरिन्छन् । तर सरकारले यो मन्त्रालयलाई सीमित बजेट विनियोजन गर्दै आएको छ ।
२०८१/८२ मा यस मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । ०८०/८१ मा १ खर्ब ३४ अर्ब ३९ करोड बजेट विनियोजन भएको थियो । यस्तै ०७९/८० मा १ खर्ब ७६ अर्ब ३३ करोड, ०७८/७९ मा १ खर्ब ६७ अर्ब १८ करोड र ०७७/७८ मा १ खर्ब ३८ अर्ब ८० करोड छुट्याइएको थियो । २०७७/७८ यता पाँच वर्षमा सबैभन्दा धेरै बजेट ०७९/८० मा विनियोजन भएको देखिन्छ । यो वर्ष १ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको थियो ।
त्यसपछि ०८०/८१ मा घटेर १ खर्ब ३४ अर्ब ३९ करोड रुपैयाँ बराबर विनियोजन भएको थियो । फेरि ०८०/८१ को तुलनामा ०८१/८२ मा बढाएर छुट्याइएको देखिन्छ ।