आर्थिक वर्षको नीति पास त भयो तर फस्ट डिभिजनमा आएन : बाबुराम भट्टराई

काठमाडौं, १९ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनताको जिवनमा प्रभाव पार्ने खालको नभएको बताएका छन् ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यो नीति सामान्य रुपमा पास भएको प्रथम श्रेणीमा नपरेको बताएका हुन् ।
उनले भने, ‘सुशासनको क्षेत्रमा भ्रष्टाचार नियन्त्रण गर्ने अंगहरुलाई बलियो बनाउछौँ र सुधार गर्छौँ भन्न सक्नुपथ्र्यो त्यो नभन्दा त्यसलाई निरन्तरता जस्तो भयो । यो सामान्यरुपमा पास त भयो तर फस्ट डिभिजनमा आएन । जनताको जिवनमा प्रभाव पार्ने, जो मान्छेले अपेक्षा गरेको छ त्यो चै आएन । त्यो हुनुमा उहाँहरुको दृष्टिकोणमा समस्या पर्यो ।’
उनले नेपाल कृषि प्रधान देश भएकाले १० वटा कुरा गर्नुको साटो वैज्ञानिक भूमि सुधार गर्नेछौं भन्नुपर्ने बताए ।
‘नेपाल अहिले पनि कृषि प्रधान देश हो । वैज्ञानिक भूमि सुधार भनेर हाम्रो संविधानमा उल्लेख छ, त्यसलाई १० वटा कुरा गर्नु साटो वैज्ञानिक भूमि सुधार गर्नेछौं भने हुन्छ यसले आशा पनि जगाउँछ,’ उनले भने ।
उनले देशको आर्थिक विकास क्रमिक भईरहेको भन्दै २ अंकको वृद्धिदर नघटेको बताए । उनले आर्थिक वृद्धिदर थप हुने गरी आर्थिक नीति नबनेको बताए ।