भारतको ‘अप्रेशन सिन्दूर’: आतंककारी संरचनामाथि कडा प्रहार, ९ लक्ष्यहरू सफलतापूर्वक ध्वस्त

काठमाडाैं, २४ वैशाख । भारतीय सेनाले ‘अप्रेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (PoK) मा रहेका नौवटा आतंककारी संरचनामाथि लक्षित आक्रमण सञ्चालन गरेको छ। यो उच्चस्तरीय अपरेशनमा भारतीय सेना, जलसेना र वायुसेनाले संयुक्त रूपमा समन्वय गरी आतंकवादीहरूको संरचनालाई ध्वस्त पार्ने रणनीति अपनाएको थियो।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, पाकिस्तानको बहावलपुर, मुरिदके र सियालकोटमा रहेका चार र PoK जम्मू-कश्मीरका पाँच स्थानमा आक्रमण गरिएको हो। यी सबै लक्ष्यहरू जैश-ए-मोहम्मद (JeM) र लश्कर-ए-तैयबा (LeT) जस्ता आतंकवादी समूहहरूसँग सम्बन्धित ठहरिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेशनको निगरानी रातभर गरेका थिए। यस अपरेशनमा प्रयोग गरिएका हतियारहरूमा तीनै शाखाहरूबाट उपलब्ध गराइएका अत्याधुनिक ड्रोन, लोइटरिङ म्युनिसन र अन्य लक्षित प्रहार गर्ने प्रणालीहरू समावेश थिए।
भारतीय रक्षा मन्त्रालयका अनुसार, यो अपरेशन बिहानैका समयमा सुरु गरिएको थियो र सम्पूर्ण आक्रमण भारतको सीमाभित्रबाटै सञ्चालन गरिएको थियो। सबै लक्ष्यहरू आतंकवादी समूहका मुख्य नेताहरूको बैठकस्थल र योजना केन्द्रहरू थिए।
पाहलगाम हमलाको प्रतिवाद
यस आक्रमणलाई केही दिनअघि जम्मू-कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलाको प्रतिवादका रूपमा हेरिएको छ। उक्त हमलामा २५ भारतीय नागरिक र एक नेपाली नागरिकको मृत्यु भएको थियो। भारतीय सेनाले स्पष्ट पारेको छ कि यस अपरेशनमा कुनै पनि पाकिस्तानी सैन्य संरचनालाई लक्षित गरिएको थिएन।
पाकिस्तानको प्रतिकार र भारतीय जवाफ
अपरेशन सम्पन्न भएलगत्तै पाकिस्तानले जम्मू-कश्मीरको पुंछ-राजौरी क्षेत्रमा रहेको भीमबर गली क्षेत्रमा युद्धविराम उल्लङ्घन गर्दै गोलाबारी गरेको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन्।
भारतीय सेनाले यसको जवाफमा संयमित र मापदण्डभित्रै रहेर जवाफी कारबाही गरिरहेको जनाएको छ। भारतीय सेनाको अतिरिक्त जनसंपर्क निर्देशनालयले सामाजिक सञ्जाल ‘X’ मा पोस्ट गर्दै पाकिस्तानको यो कदमलाई उकास्ने रणनीति भन्दै भारतीय सेनाले मापन गरिएको प्रतिक्रिया दिने बताएको छ।