Date

बिहि, बैशाख २५, २०८२
Thu, May 8, 2025

प्रधानमन्त्री ओलीद्वारा सञ्चारमाध्यममा भाषाको प्रयोगप्रति असन्तुष्टि, ‘तिमी’ सम्बोधनप्रति आपत्ति

प्रधानमन्त्री ओलीद्वारा सञ्चारमाध्यममा भाषाको प्रयोगप्रति असन्तुष्टि, ‘तिमी’ सम्बोधनप्रति आपत्ति

काठमाडाैं, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यममा प्रयोग भइरहेको भाषाशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। गोरखापत्र दैनिकको १२५औँ वार्षिकोत्सव तथा ६३औँ वार्षिक उत्सवका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले विशेष गरी समाचारमा ‘तिमी’ सम्बोधन प्रयोगप्रति आपत्ति जनाएका छन्।

राजतन्त्रकालको भाषाशैली स्मरण गर्दै उनले भने, “पहिले राजा हुँदा समाचारमा लेखिन्थ्यो — ‘राजा हेर्दैनन्; अवलोकन गर्छन्। राजा हिँड्दैनन्; गमन गर्छन्। राजा बस्दैनन्; विश्राम गर्छन्। राजा सुत्दैनन्; आराम गर्छन्।’ अहिले राजतन्त्र छैन भने पनि जनताका छोराछोरीलाई सम्मान दिनुपर्छ। किन भाषालाई अवमूल्यन गरिरहेको छौं?”

राष्ट्रपतिलाई गरिएको सम्बोधनप्रति पनि उनले असहमति जनाउँदै भने, “राष्ट्रपतिले के भने, के भनेन मलाई याद छैन। तर, ‘राष्ट्रपतिले नातिसँग कुरा गरेर उद्घाटन गरे’ भन्ने भाषा सही नेपाली होइन।”

नेपाली भाषाको गरिमा घटाउने अभिव्यक्तिहरूको विरोध गर्दै उनले थपे, “तिमी भन्नाले हजुरबुवा र नातिलाई पनि एउटै रूपमा सम्बोधन गरिन्छ। केही भाषामा अभिव्यक्तिको अभाव हुन सक्छ। यसको अर्थ हाम्रो भाषा नै घटाउनु पर्ने होइन।”

गोरखापत्रले नेपाली भाषाको शुद्धताको मापदण्ड स्थापित गरेको भन्दै ओलीले प्रशंसा पनि गरे। उनका अनुसार, “गोरखापत्रलाई नेपाली भाषाको शुद्धताको मापदण्ड मानिन्छ। यो अन्य कुनै पनि पत्रिकाभन्दा भाषिक आन्दोलनको अगुवाइ गर्दै आएको छ।”

त्यस्तै, उनले सञ्चारमाध्यममा बढ्दै गएको नकारात्मक टिप्पणी र कृत्रिम बौद्धिकता प्रवृत्तिप्रति पनि कटाक्ष गरे। “कुनै न कुनै बहानामा नकारात्मक आलोचना गर्ने, कृत्रिम बौद्धिकता देखाएर चरित्र हत्या गर्ने, आज झुटलाई सत्य भन्दै प्रचार गर्ने र भोलि त्यसलाई सही ठहर्याउने प्रवृत्ति बढ्दै गएको छ। गोरखापत्रले यस्ता प्रवृत्तिहरूको विरोध गर्नुपर्छ,” ओलीले भने।

प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति विशेष गरी समाचारको भाषाशैली, सम्बोधनको स्तर र सञ्चारमाध्यममा बढ्दै गएको नकारात्मक प्रवृत्तिप्रति लक्षित रहेको स्पष्ट देखिन्छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *