सगरमाथा संवाद काठमाडौंमा सुरु, जलवायु परिवर्तन र मानव भविष्यमा केन्द्रित अन्तर्राष्ट्रिय संवाद

काठमाडाैं, २ जेष्ठ । जलवायु परिवर्तन, दिगो विकास र विश्वव्यापी साझेदारीका विषयमा केन्द्रित अन्तर्राष्ट्रिय संवाद कार्यक्रम ‘सगरमाथा संवाद’ आज काठमाडौंमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहका बीच उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्। “जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य” भन्ने मूल नारासहित सुरु भएको संवादमा ३५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ।
यसअघि, सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक तथा परराष्ट्रमन्त्री डा. अर्जु राणा देउवाले उपस्थित विशिष्ट अतिथिहरूलाई स्वागत गर्दै संवादको औपचारिक सुरुआत गरेकी थिइन्। वर्तमान समयमा उद्घाटन सत्रमा विशिष्ट अतिथिहरूले आ–आफ्नो मन्तव्य राखिरहेका छन्। उद्घाटन सत्रको समापनपछि विभिन्न थिमेटिक सत्रहरू समानान्तर रूपमा सञ्चालन हुने कार्यक्रम रहेको छ।
सगरमाथा संवादले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका प्रभाव, वातावरण संरक्षणका उपायहरू तथा अन्तर्राष्ट्रिय साझेदारीको खाँचो जस्ता मुद्दामा बहस गर्ने उद्देश्य राखेको छ। यस संवादलाई नेपाल सरकारले जलवायु संकटको गहिरो प्रभाव झल्काउन तथा विश्वभरिका नीति निर्माता, विज्ञ र सरोकारवालाहरूलाई एकै थलोमा ल्याउन आयोजित गरेको हो।
उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रतिकूल प्रभावले नेपालजस्ता हिमाली देशहरूमा झन् जोखिम थपिएको र यसको समाधानका लागि सामूहिक प्रयासको खाँचो रहेको बताए। उनले भने, “हिमालको संरक्षण गर्नु मानवताको संरक्षण गर्नु हो। जलवायु परिवर्तनको प्रभावले हिमाली क्षेत्रको अस्तित्वमाथि नै चुनौती थपिरहेको छ।”
थिमेटिक सत्रहरूमा जलवायु न्याय, हिमालय क्षेत्रका आदिवासी समुदायको भूमिका, वातावरणीय आप्रवासन र दिगो विकासका सम्भावनाहरूका विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।
सगरमाथा संवादले नेपाललाई जलवायु परिवर्तनको असरबारे विश्वव्यापी रूपमा आवाज उठाउने थलोको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। संवादको समापन कार्यक्रम आगामी दुई दिनमा सम्पन्न हुनेछ।