नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सव : दिगो विकास, पारदर्शिता र प्रविधिमैत्री सेवामा केन्द्रित हुने प्रतिबद्धता

काठमाडाैं, २ जेष्ठ । नेपाल बीमा प्राधिकरणले आफ्नो ५७ औँ वार्षिकोत्सवको अवसरमा बीमा तथा वित्तीय क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न सबै सरोकारवालालाई हार्दिक शुभकामना व्यक्त गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले विशेष सन्देश जारी गर्दै बीमा क्षेत्रको प्रवर्द्धन, नियमन र सुधारका लागि विगत ५७ वर्षको यात्रालाई स्मरण गरेका छन्।
वि.सं. २०२६ सालमा स्थापना भएको नेपाल बीमा प्राधिकरणले आफ्नो स्थापनाकालदेखि हालसम्मका चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै बीमा क्षेत्रमा नीति, प्रविधि र संस्थागत सुधारका कार्यमा उल्लेखनीय प्रगति गरेको बताइएको छ। यस अवसरमा प्राधिकरणले बीमा क्षेत्रमा डिजिटल रूपान्तरण, सेवामा पारदर्शिता, बीमा पहुँचको विस्तार तथा बीमितको हकहित संरक्षणलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्ने प्रतिबद्धता जनाएको छ।
प्राधिकरणका सीईओले बीमा सेवामा आमनागरिकको पहुँच सुनिश्चित गर्न, बीमा शिक्षाको अभिवृद्धि गर्न र दाबी भुक्तानी प्रक्रियालाई थप प्रभावकारी बनाउन आवश्यक सुधारका लागि पहल गरिरहेको जानकारी दिए। साथै, बीमा अनुशासनको सुदृढीकरण र नविनतम बीमालेख / पोलिसीहरुको विकासका माध्यमबाट आमनागरिकको विश्वास बढाउनका लागि प्राधिकरण निरन्तर प्रयत्नशील रहेको बताए।
प्राधिकरणले बीमा अभिकर्ता, एजेण्ट, सर्भेयर, ब्रोकर, लेखापरीक्षक, बीमाङ्की विश्लेषक, कानूनी सल्लाहकार, कृषक, सञ्चारकर्मी, अनुसन्धानकर्ता लगायतका सबै सरोकारवालाको योगदानलाई उच्च सम्मानका साथ स्मरण गरेको छ।
वार्षिकोत्सवका अवसरमा सीईओले आगामी दिनहरूमा बीमा सेवालाई अझ सरल, विश्वसनीय, जनमैत्री र प्रविधिमैत्री बनाउँदै सर्वसाधारण जनताको वित्तीय सुरक्षालाई थप सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
यसै अवसरमा, प्राधिकरणले वित्तीय सुरक्षा र समृद्धिका लागि सबै सरोकारवालाहरूको एकीकृत प्रयासको आवश्यकता रहेकोमा जोड दिएको छ। नेपाल बीमा प्राधिकरणले आफ्नो ५७ औँ वार्षिकोत्सवलाई थप सफल, प्रभावकारी र सर्वसाधारणमाझ पहुँचयुक्त बनाउन विभिन्न कार्यक्रम तथा योजनाहरूको घोषणा समेत गरेको छ।