Date

मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

नाफा आधा भए पनि दूरदराजमा सेवा विस्तारमै केन्द्रीत टेलिकम, ९ महिनामा पौने ३ अर्बको कमाइ

नाफा आधा भए पनि दूरदराजमा सेवा विस्तारमै केन्द्रीत टेलिकम, ९ महिनामा पौने ३ अर्बको कमाइ

काठमाडाैं, ५ जेष्ठ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सोमबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार, साउनदेखि चैत मसान्तसम्मको अवधिमा टेलिकमले यो नाफा आर्जन गरेको हो।

यद्यपि, विगत वर्षको तुलनामा कम्पनीको नाफा लगभग आधा घटेको छ। अघिल्लो आवको सोही अवधिमा टेलिकमले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो। यो वर्ष सोही तुलनामा ४८.६७ प्रतिशतले घटेको छ।

टेलिकमले गत आर्थिक वर्षमा जीएसएम अनुमति पत्र नविकरणका लागि एकमुष्ठ २० अर्ब रुपैयाँ भुक्तानी गर्नु परेकाले नाफामा प्रत्यक्ष असर परेको जनाएको छ। त्यस्तै, उच्च लागतमा विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार गर्नुपर्ने बाध्यता, तथा सेवा गुणस्तर सुधारको प्रयासले खर्च बढेको र प्रतिफल घटेको कम्पनीको तर्क छ।

सेवाको दररेट निर्धारण सम्बन्धी सरकारी नीति तथा नियममा आएको परिवर्तनले पनि राजस्वमा प्रतिकूल असर परेको टेलिकमको भनाइ छ।

आम्दानीमा समेत गिरावट

कम्पनीको समग्र आम्दानीमा पनि घटावट देखिएको छ। समिक्षा अवधिमा टेलिकमले २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६ करोड कम हो। गत आवको यसै अवधिमा २५ अर्ब ४८ करोड १२ लाख रुपैयाँ आम्दानी भएको थियो।

वित्तीय आम्दानी झनै घटेको देखिन्छ। यो अवधिमा वित्तीय आम्दानी ४६.०२ प्रतिशत घटेर २ अर्ब ८० करोड ३५ लाखमा सीमित भएको छ। कुल आम्दानी पनि ८.८९ प्रतिशतले घट्दै २८ अर्ब ४३ करोड १५ लाख रुपैयाँमा झरेको छ।

ओटीटी र वाईफाई प्रतिस्पर्धाबाट आयमा दबाब

टेलिकमले ओटीटी (OTT) सेवाहरू — जस्तै व्हाट्सएप, म्यासेन्जर, भाइबर — को अत्यधिक प्रयोगका कारण विशेष गरी विदेशबाट आउने कल संख्या घटेको जनाएको छ। यसको प्रत्यक्ष असर अन्तरआवद्धता आम्दानीमा परेको छ, जुन २२.३७ प्रतिशतले घटेको छ।

त्यस्तै, इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूले मोबिलिटी गर्दै वाईफाई सेवा प्रदान गरिरहेको कारण मोबाइल डाटा प्रयोगमा पनि उल्लेखनीय गिरावट आएको टेलिकमले जनाएको छ।

सुदृढ वित्तीय अवस्था

हाल टेलिकमको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ छ। कम्पनीको जगेडा कोष भने ७२ अर्ब ७० करोड ७२ लाख रुपैयाँमा पुगेको छ। प्रतिसेयर आम्दानी (EPS) हाल २१.०५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ (Net Worth) भने ५०३.९३ रुपैयाँ रहेको छ।

घट्दो नाफा र चुनौतीपूर्ण बजारस्थितिका बीच पनि टेलिकमले दुर्गम स्थानसम्म पहुँच पु-याउने कार्यलाई निरन्तरता दिँदै आएको छ। डिजिटल पहुँच विस्तार र प्रविधिमा लगानी गर्ने योजनाका साथ अगाडि बढिरहेको कम्पनीले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *