ट्रेड टावर लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने, जेठ १४ बाट आवेदन खुल्ने

काठमाडाैं, ५ जेष्ठ । ट्रेड टावर लिमिटेडले आगामी जेठ १४ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ (शेयर निष्काशन) गर्ने तयारी गरेको छ। कम्पनीले कुल जारी पूँजीको ४८.६९६ प्रतिशत भाग बराबर ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन अनुमति पाइसकेको छ। यसमध्ये सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर जारी गर्ने योजना बनाएको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र आफ्ना कर्मचारीका लागि क्रमशः ३ लाख ९७ हजार १६९.३०, १ लाख ९८ हजार ५८४.६५ र ७९ हजार ४३३.८६ कित्ता शेयर जारी गरी बाँडफाँट गरिसकेको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति जेठ १९ रहेको छ भने, यदि आवेदन संख्या पूरा नभएमा निष्काशन अवधि जेठ २८ सम्म लम्बिनेछ।
शेयर निष्काशन र बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हालेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सदस्य बैंक, वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
आईपीओको लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई “इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस” प्रदान गरेको छ, जसले मध्यम जोखिम स्तरको दायित्व बहन गर्ने क्षमतामा कम्पनी रहेको संकेत गर्दछ।