Date

बुध, जेष्ठ ७, २०८२
Wed, May 21, 2025

काठमाडौंमा चिनियाँ पर्यटन दिवस मनाइयो, चीन-नेपाल पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौंमा चिनियाँ पर्यटन दिवस मनाइयो, चीन-नेपाल पर्यटन प्रवर्द्धनमा जोड

काठमाडाैं, ७ जेष्ठ । चीनको पर्यटन दिवसको अवसरमा मंगलबार साँझ काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी उत्सवपूर्वक मनाइएको छ।

कार्यक्रम चीन सांस्कृतिक केन्द्र, चीन राष्ट्रिय पर्यटन कार्यालय, र चीन साउदर्न एयरलाइन्सको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा नेपालका व्यवसायी, पर्यटन क्षेत्रका प्रतिनिधिहरू, चिनियाँ व्यापार समुदाय, सरकारी अधिकारीहरू र विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

चीनले हरेक वर्ष मे १९ तारिखलाई पर्यटन दिवसको रूपमा मनाउने गर्दछ, जुन मिंग वंशकालीन महान यात्री शु शियाके (Xu Xiake) को सम्झनामा मनाइन्छ।

कार्यक्रममा चीन सांस्कृतिक केन्द्र, काठमाडौंकी निर्देशक शिआओ जिआङ (Xiao Jiang) ले पर्यटन आधुनिक जीवनशैली र मनोरञ्जनको महत्वपूर्ण अङ्ग भएको बताइन्। उनले भनिन्, “पर्यटनले प्रकृतिसँगको सम्बन्ध बलियो बनाउँछ, राष्ट्र र जनताबीच संवाद र आपसी समझदारी बढाउँछ, र साझा भविष्यको निर्माणमा सहयोग पुर्‍याउँछ।”

त्यसैगरी, चीन साउदर्न एयरलाइन्स काठमाडौं कार्यालयका महाप्रबन्धक याङ वेनफु (Yang Wenfu) ले चीन-नेपालबीचको हवाई सम्पर्क अझ सशक्त बनाउनेतर्फ काम भइरहेको बताए। उनले चीन र नेपालबीचको पर्यटन विकासका लागि सहकार्यलाई थप मजबुत बनाउँदै नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा चीन पर्यटन कार्यालय, काठमाडौंका प्रतिनिधि मोहन सुवालले चीनको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, र आधुनिक उपलब्धिबारे विस्तृत प्रस्तुति दिए। उनले स्प्रिङ फेस्टिवल (चिनियाँ नयाँ वर्ष), ल्याण्टर्न फेस्टिवल, ड्रागन बोट फेस्टिवल, मिड-अटम फेस्टिवललगायत चिनियाँ चाडपर्वबारे जानकारी गराए।

सुवालले चीनका ऐतिहासिक स्थलहरूजस्तै शिआन सहर, टेराकोटा आर्मी, बेइजिङको फोर्बिडन सिटीलगायत विश्वप्रसिद्ध धरोहरबारे जानकारी दिँदै चीनमा यस्ता धरोहरहरूले चिनियाँ जनताको इतिहास र बुद्धिमत्ताको कथा बोकेको बताए।

चीन विश्वको दोस्रो धेरै यूनेस्को विश्व सम्पदा क्षेत्र रहेको देश हो, जहाँ ५९ वटा सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरू रहेका छन्। चीन हाल विश्वको प्रमुख पर्यटन गन्तव्यहरूमध्ये एक हो, र हरेक वर्ष ठूलो संख्यामा नेपाली पर्यटक पनि चीन भ्रमण गर्छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *