पेट्रोलियम पदार्थको आयातमा साढे ७ प्रतिशत वृद्धि, २ खर्ब २३ अर्ब रुपैयाँको इन्धन भित्रियो

काठमाडाैं, ८ जेष्ठ । नेपालमा पेट्रोलियम पदार्थको आयात निरन्तर बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा मात्रै मुलुकले करिब २ खर्ब २३ अर्ब रुपैयाँ बराबरको इन्धन आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.५ प्रतिशतले बढी हो।
पेट्रोलियम आयातबाट मात्रै सरकारले ९२ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। सबैभन्दा धेरै आयात गरिएको इन्धन डिजेल हो।
चालु आवको पहिलो १० महिनामा नेपालले १ खर्ब २ अर्ब ३८ करोड रुपैयाँ बराबरको ११ लाख ४७ हजार ६५७ किलोलिटर डिजेल आयात गरेको छ। त्यसपछि पेट्रोलको स्थान आउँछ, जसको आयात मूल्य ५३ अर्ब ५ करोड रुपैयाँ छ र परिमाण ६ लाख १२ हजार १२ किलोलिटर छ। हवाई इन्धन (एटीएफ) को पनि १६ अर्ब १४ करोड रुपैयाँ बराबरको १ लाख ७७ हजार ९२९ किलोलिटर आयात भएको छ।
यसका साथै, एलपी ग्यास (सिलिन्डर ग्यास) को आयातमा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ। पहिलो १० महिनामा नेपालले ५१ अर्ब ८१ करोड रुपैयाँ बराबरको एलपी ग्यास आयात गरेको छ।