मेयर बालेनले नीति, बजेट र कार्यक्रममा जनतासँग मागे सुझाव, अब बोलाउलान् त बैठक ?

काठमाडौं, ११ जेष्ठ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, बजेट र कार्यक्रम तर्जुमा गर्ने क्रममा नागरिकहरूबाट प्रत्यक्ष सुझाव आह्वान गरेको छ ।
महानगरपालिकाले एक अनलाइन प्रणाली सार्वजनिक गर्दै नागरिकका चाहना, साझेदार तथा सरोकारवालाका अपेक्षालाई नीति, बजेट र कार्यक्रममा समावेश गर्ने लक्ष्य लिएको हाे ।
मेयर बालेन शाहको नेतृत्वमा महानगरले सञ्चालन गरेको यस पहलले नगरबासीको आवाजलाई प्राथमिकता दिने र उनीहरूको प्रत्यक्ष सहभागितामा विकासका योजनाहरू बनाउने प्रतिबद्धता देखाएको छ ।
अनलाइन सुझाव पोर्टलमा महानगरको पहिचान, जीवन्तता, विकास र समृद्धि, आधारभूत आवश्यकताको पूर्ति, सामाजिक विकास, लक्षित वर्गका कार्यक्रम, पहुँचयुक्त सहरी सुविधा सेवा र सुविधा वितरणलगायत २३ वटा मुख्य शीर्षक र उपशीर्षकहरू राखिएका छन्। नागरिकहरूले यी शीर्षकसँग सम्बन्धित वा शीर्षकले समेट्न नसकेका विषयमा ‘अन्य’ खण्डमा गएर आफ्ना सुझाव र सुझावसँग सम्बन्धित कागजातसमेत अपलोड गर्न सक्नेछन्।
पोर्टलमा प्राप्त सुझावहरूको विवरण पनि सोही पृष्ठमा हेर्न सकिने व्यवस्था मिलाइएको छ । महानगरले पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, कार्यालय सञ्चालन, प्रशासन सञ्चालन, सुशासन र अन्तरसम्बन्धित क्षेत्रहरूमा सुझाव माग गरेको छ।
नागरिकहरूले आफ्ना परिकल्पना, समस्या समाधानका न्यूनतम उपाय तथा योजनाको विवरण जेठ १५ गतेभित्र पठाइसक्नुपर्ने महानगरले जनाएको छ।
तर, पछिल्लाेसमय प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगकाे विवादका कारण काठमाडौं महानगरले बजेट नै अन्योलमा छ। महानगरकाे कार्यपालिका बैठक २०८१ पुस १० गतेयता बस्न सकेको छैन । कार्यपालिका सदस्यहरुले बैठक बोलाउन माग गर्दै आएका छन । तर, बालेनले बैठक बोलाएका छैनन् ।