काभ्रेको भुम्लु १ मा सडक बनाउने उपभोक्ता समिति नै विवादमा, अर्को समिति बनाउने तयारीमा गापा अध्यक्ष

काभ्रे, १३ जेष्ठ । सडक निमार्णको लागि बनेको उपभोक्ता समिति नै विवादमा परेपछि काभ्रे भुम्लु १ मा रहेको लाकुरी भन्ज्याङ उर्लेनी मोटरबाटो बनाउन अर्को समिति गठन गरिने भएको छ ।
कृष्ण बहादुर वानियाँको अध्यक्षतामा रहेको मौजुदा उपभोक्ता समितिले एकपक्षीय रुपमा समिति गठन गरी एकलौटी ढंगले काम गर्न खोजेको भन्दै स्थानीयले विरोध गरेका थिए ।
स्थानीयको विरोधपछि उपभोक्ता समिति र स्थानीयबीच विवाद सिर्जना हुँदा उक्त सडक निर्माण आयोजना अगाडि बढाउन समेत ढिला भैसकेको छ ।
आर्थिक वर्षको अन्त्य सम्म आइपुग्दा पनि सडकको काम सुरु हुन नसकेपछि भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलले अर्को उपभोक्ता समिति बनाउन भुम्लु १ का वडा अध्यक्षलाई निर्देशन दिएका छन् ।
उनले भने “ रकम फिर्ता गर्नुभन्दा अर्को उपभोक्ता समिति बनाएरै भए पनि काम गर्नुपर्छ, मैले वडा अध्यक्षलाई त्यो सवै समस्या मिलाएर आउनुस भनेको छु । जसले गरे पनि काम हुनेगरी समिति बनाउन भनेको छु । काम गर्ने मान्छे हुनुपर्यो समितिमा जो सुकै भए पनि केही फरक पर्दैन । मैले यो सवै कुरा वडा अध्यक्षलाई भनेको छु । सायद अब बन्ने समितिले पक्कै काम गर्ला ।”
समितिले बागमती प्रदेशबाट प्राप्त १५ लाख रकमलाई उपयोग गर्न भन्दै भुम्लु गाउँपालिका वडा नं १ (साविक वडा नं ८) स्थित लाँकुरी भन्ज्याङ खहरे खोला हुँदै उर्लेनीसम्म नयाँ सडक ट्र्याक खन्ने तयारी गरेको थियो । तर स्थानीयको विरोधका कारण सिर्जना भएको विवादले अहिले सम्म सडक निर्माण कार्य रोकिनुमा पालिका अध्यक्ष र वडा अध्यक्ष जिम्मेवार रहेको स्थानीयले आरोप लगाएका छन् ।
तर पालिका अध्यक्ष भुलेलले स्थानीयको आरोप अस्वीकार गर्दै उपभोक्ता समिति गठनमा आफ्नो संलग्नता नभएको जिकिर गरे । स्थानीयले पालिका अध्यक्ष र वडा अध्यक्ष मिलेर एकलौटी रुपमा उभोक्ता समिति गठन गरेको र तोकिएको भन्दा फरक ठाउँमा सडक बनाउने तयारी गरेको भन्दै विरोध गर्दै आइरहेका छन् नि ? भनेर सोधेको प्रश्नमा पालिका अध्यक्ष भुजेले भने “यसमा मेरो संलग्नता छैन । काम गरौ भनेर सवैलाई बोलाएका थियौं । त्यतिबेला अहिले विरोध गर्नेहरु आएनन् । उपभोक्ता समिति बनेर कामको सम्झौता भए पछि विरोध गरे ।”
त्यसो त भौतिक पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रमख ईं. विरेन्द्र कुमार बज्रचार्याले उक्त योजना कार्यन्वयनमा आएको विवाद र समस्याको कारण अहिले काम स्थगित गरिएको जानकारी दिए । बज्रचार्याका अनुसार कागजी प्रक्रिया मात्र पुरा गरेर हुँदैन गाउँको विकासको लागि छुट्याएको बजेटले विकास पनि हुनु पर्यो तर विवाद हुनु हुँदैन ।
हामीले यो समाचार तयार पार्दा सम्म भुम्लु १ का वडा अध्यक्ष लेखनाथ श्रेष्ठलाई सम्पर्क गर्न कोसिस गर्दा सम्पर्क हुन नसकेका कारण यसबारेमा उनको धारणा यहाँ राख्न सकिएको छैन ।
त्यसो त हाल कायम रहेका उपभोक्ता समितिका अध्यक्ष बानियाँले पनि आफूलाई काम गर्न गाह्रो भएको बताएका छन् । उनले भने “ मैले पालिका अध्यक्ष र वडा अध्यक्षले काम गरौ भनेको कारण अध्यक्ष हुन सहमति भएको हुँ । पछि कता कता के के गर्नुभयो अहिले विवाद भएको छ । अब मलाई काम गर्ने मन छैन । जो सक्छ, उसैले गरे हुन्छ ।”
उपभोक्ता समितिले यस अघि काम सुरु गर्ने भन्दै नयाँ ट्र्याक खन्न लागिएको सडक मार्ग माटो बग्ने क्षेत्र भएकोले सडक बनेको खण्डमा भोलिका दिनमा पहिरो आउने, भुक्षय हुने, बन मासिने तथा खानेपानीको मुहानमा समेत असर पर्ने भन्दै स्थानीयले उक्त सडक बनाउन विरोध गर्दै आइरहेका थिए ।
सरकारीे कोषबाट प्राप्त बजेट सदुपयोग गर्नैपर्ने भए स्थानीयहरुले घट्टेखोला उर्लेनी भिम्सेन स्थान मन्दिर हुँदै चौवास, रामेछाप सम्म क्युको बस सन्चालनमा रहेको उक्त मोटर बाटोलाई नै स्तरोन्नती गर्न माग गरिरहेका छन् । उक्त सडक स्तरोन्नती नहुँदा यस ठाउँका बासिन्दाले विरामी परेको बेला अझै पनि एम्बुलेन्स सेवा प्रयोग गनै निकै सास्ती भोग्ने गरेका छन् ।
त्यसो त स्थानीयले उक्त सडक स्तरोन्नतीको लागि पटक पटक बजेट माग गर्दा पनि सम्न्धित निकायले बेवास्ता गरी उल्टै नयाँ ट्र्याक खोल्न लागेकोमा आश्चर्य समते व्यक्त गरेका छन् ।
नयाँ ट्र्याक खोलिएमा मानव वस्तीमा दीर्घकालिन असर पर्ने भएकोले त्यसलाई रोक्नका लागि उनीहरुले यस अघि नै भौतिक पूर्वाधार कार्यालय धुलिखेल काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका र वडा कार्यालयमा समेत यसबारेमा गुनासो दर्ता गरेका थिए ।