Date

आइत, साउन ११, २०८२
Sun, July 27, 2025

सञ्चार थुनिएको आइपीओ प्रक्रिया खुल्यो, ७६ कम्पनीका साढे ५२ अर्बको आइपीओ आउँदै

सञ्चार थुनिएको आइपीओ प्रक्रिया खुल्यो, ७६ कम्पनीका साढे ५२ अर्बको आइपीओ आउँदै

काठमाडाैं, १४ जेष्ठ । लामो समयदेखि रोकिएको आइपीओ निष्कासन अनुमति प्रक्रिया अन्ततः तीव्र बनेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चौतर्फी आलोचना र लगानीकर्ताको दबाबपछि आइपीओ स्वीकृतिमा सक्रियता देखाएको हो। अब छिट्टै दर्जनौं कम्पनीका आइपीओ सर्वसाधारण लगानीकर्ताको हातमा आउने तयारी भइरहेको छ।

हाल बोर्डको पाइपलाइनमा ७६ वटा कम्पनीका ५२ अर्ब ४२ करोड ६६ लाख १३ हजार रुपैयाँ बराबरका साधारण सेयर निष्कासन प्रस्ताव छन्। यीमध्ये धेरै कम्पनीहरूले प्रक्रिया पूरा गरिसके पनि अनुमति नपाएर रोकिएका थिए। प्रक्रिया ढिलाइ भएपछि विशेषगरी जलविद्युत क्षेत्रका लगानीकर्ताले विरोध जनाएका थिए। स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान) ले बोर्डमाथि बिचौलिया चलखेल र अनावश्यक ढिलासुस्ती गरेको आरोप समेत लगाएको थियो।

बोर्डले पछिल्लो समय योग्य कम्पनीलाई अनुमति दिन प्राथमिकता दिएको जनाएको छ। केही दिनअघि मात्रै मापदण्ड नपुगेका १४ वटा कम्पनीलाई सूचीबाट हटाइएको छ, जसमा धेरै जलविद्युत कम्पनी छन्। ती कम्पनीको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम वा विद्युत् खरिद सम्झौताको अवधि छोटो रहेको बोर्डको भनाइ छ।

पाइपलाइनमा रहेका कम्पनीमध्ये ३७ वटा जलविद्युत कम्पनी छन्, जसले १८ अर्ब २८ करोड ६५ लाख रुपैयाँ बराबरको १७ करोड ८७ लाख ९२ हजार कित्ता आइपीओ निष्कासन अनुमति मागेका छन्। उत्पादन तथा प्रशोधन समूहका १६ कम्पनीले २४ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ बराबरका ११ करोड १४ लाख ७२ हजार कित्ता, होटेल तथा पर्यटन क्षेत्रका पाँच कम्पनीले २ अर्ब ३० करोड ७० लाख रुपैयाँ बराबरका २ करोड ४३ लाख २० हजार कित्ता आइपीओ अनुमति मागेका छन्।

त्यस्तै, लगानी समूहका तीन कम्पनीले २ अर्ब ९३ करोड १० लाख रुपैयाँ बराबरका १ करोड ६५ लाख ५० हजार कित्ता, लघुवित्ततर्फ स्वस्तिक लघुवित्तले ८० लाख बराबरको ८० हजार कित्ता, विकास बैंकतर्फ साल्पा विकास बैंकले १७ करोड २३ लाख रुपैयाँ बराबरका १७ लाख २३ हजार कित्ता आइपीओ निष्कासन अनुमति मागेका छन्। लघुबीमा तर्फ प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो र लिवर्टी माइक्रो लाइफले कुल ६७ करोड ५० लाख रुपैयाँ बराबरका ६७ लाख ६० हजार कित्ता आइपीओ अनुमति मागेका छन्।

अन्य समूह अन्तर्गत १० वटा कम्पनीले ३ अर्ब ४२ करोड १२ लाख रुपैयाँ बराबरका २ करोड ७४ लाख ९० हजार कित्ता आइपीओका लागि अनुमति मागेका छन्। डिस मिडिया नेटवर्क र आइएमई लिमिटेड लगायतका कम्पनी यसमा पर्छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *