नयाँ राष्ट्र बैंक गभर्नर डा. विश्व पौडेलको नियुक्ति विरुद्ध सर्वोच्चमा रिट, आज सुनुवाइ हुँदै

काठमाडाैं, १४ जेष्ठ । नव नियुक्त नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको नियुक्ति विरुद्ध दर्ता भएको रिटमा सर्वोच्च अदालतमा आज (बुधबार) सुनुवाइ हुँदैछ। उक्त रिट पौडेलको नियुक्ति भएको भोलिपल्टै दायर गरिएको भए पनि पाँच दिनसम्म आन्तरिक छलफल र प्रक्रिया पूरा गरेपछि मात्र मंगलबार सर्वोच्चले औपचारिक रूपमा दर्ता गरेको हो।
रिट निवेदक अधिवक्ता अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रावधान उल्लंघन गर्दै नियुक्ति गरिएको दाबी गरेका छन्। उनीहरूको अनुसार पौडेलको चयन प्रक्रिया राजनीतिक प्रभावमा परेको र कानूनी तथा योग्यता आधारित प्रक्रिया बेपत्ता पारिएको छ।
निवेदकहरूले डा. पौडेललाई राष्ट्रको महत्वपूर्ण नीति निर्माण र बैंक नोट जारी गर्ने अधिकारबाट रोक्न अन्तरिम आदेश माग गरेका छन्। उनीहरूको भनाइमा, नियुक्ति नै अवैध भएकाले उनको कार्यकालका सबै निर्णय कानूनी रूपमा विवादास्पद हुन सक्ने खतरा छ।
रिटमा मुख्य रूपमा ऐनको धारा १५ अनुसार आवश्यक शैक्षिक योग्यताको कुरा उठाइएको छ। ऐनले अर्थशास्त्र, मौद्रिक नीति, वाणिज्य वा बैंकिङमा विशेषज्ञता भएको व्यक्तिलाई मात्र गभर्नर बनाउन सकिने भन्छ, तर निवेदकहरूले पौडेलको ग्रामीण विकास अर्थशास्त्रमा विशेषज्ञता यो मापदण्डमा नपर्ने दाबी गरेका छन्।
साथै, सिफारिस समितिको नैतिकता र पारदर्शितामा समेत प्रश्न उठाइएको छ। निवेदकहरूका अनुसार केही सदस्यले राजीनामा दिई फेरि नियुक्त भएर राजनीतिक चलखेललाई सहज बनाएको आरोप छ, जसले चयन प्रक्रियाको पारदर्शिता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।