आगामी बजेट कार्यान्वयनमा आफैंले प्राथमिकता राखेर काम गर्ने अर्थमन्त्री पौडेलको घोषणा

काठमाडाैं, १६ जेष्ठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आफैंले बजेट कार्यान्वयनलाई पहिलो प्राथमिकता दिने बताएका छन्।
अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले साउन महिनासम्म पर्खिएर नभई आजैदेखि बजेट कार्यान्वयन प्रक्रिया थालनी गर्ने योजना सुनाए। उनले बजेटको आकार धेरै महत्वाकांक्षी नरहेको र आम्दानी–खर्चको हिसाबले यथार्थपरक ढंगले बजेट आएको दाबी गरे।
पौडेलका अनुसार यस वर्ष पुँजीगत खर्च बढाउने, चालु खर्चलाई सीमामा राख्ने र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणको रकम वृद्धि गर्ने नीति अपनाइएको छ। उनले राजस्वको लक्ष्य आर्थिक वर्षको अन्त्यसम्म पूरा हुनेमा आफू आशावादी रहेको समेत बताए।
उनले बजेटमार्फत नीति सुधारका विषयहरू अघि सारिएको र आर्थिक विकास तथा समृद्धिका लागि वैकल्पिक वित्त स्रोत परिचालन गर्ने नीति लिइएको प्रष्ट पारे। साथै, राष्ट्रिय परिचयपत्रलाई सामाजिक सुरक्षा तथा सेवा सुविधासँग जोड्ने, डिजिटल भुक्तानीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने र भन्सार बिन्दुमा अग्रिम आयकर संकलन गर्ने प्रावधान खारेज गरिएको अर्थमन्त्री पौडेलले बताए।
यसै अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति व्यवस्थापनसँग सम्बन्धित विभिन्न कानुन निर्माण र बैंक तथा वित्तीय संस्थाहरूको सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने व्यवस्था सकारात्मक रहेको टिप्पणी गरे।